बिरामीबाट उठेको रकम हिनामिना गरेको आरोपमा स्वास्थ्य शाखा प्रमुख सहित ५ जना पक्राउ

132
Shares

काठमाडौँ, ३० वैशाख । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्दौटाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले स्वास्थ्य शाखा प्रमुख सहित ५ जनालाई पक्राउ गरेको छ ।

अस्पतालको ३८ लाख १९ हजार ७७० रुपैयाँ सरकारी रकम संगठित रूपमा ठगी र आपराधिक विश्वासघात गरी हिनामिना गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री गरी संकलन भएको रकम नेपाल बैंक लिमिटेडको चन्दौटा शाखामा जम्मा गर्नुपर्नेमा कर्मचारीहरूको मिलेमतोमा नक्कली बैंक भौचर बनाएर रकम हिनामिना गरिएको पाइएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण गर्ने क्रममा १२९ थान बैंक भौचरहरू फाइलमा रहे पनि सो बराबरको रकम बैंक खातामा जम्मा नभएको भेटिएपछि घटना सार्वजनिक भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेलबासेले दिएको जाहेरीका आधारमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित पाण्डेय, अस्पतालकी फार्मेसी सहायक रुक्सना खातुनका साथै नेपाल बैंक लिमिटेड चन्दौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी र नेपाल बैंक लिमिटेडका कार्यालय सहयोगी विक्रम केसी पक्राउ परेका छन् ।

पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ठगी तथा आपराधिक विश्वासघात कसुर मुद्दामा ७ दिनको म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार सरकारी अस्पतालको रकममा नक्कली भौचर खडा गरी संगठित रूपमा भ्रष्टाचार र ठगी गरिएको यो गम्भीर प्रकृतिको घटना हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *