नर्भिक अस्पतालका चार जना नर्सलाई ‘डेजी अवार्ड’

64
Shares

काठमाडौँ, २९ बैशाख । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले ४ जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ ।

अस्पतालको सेवाप्रवाहमा नर्सिङ र पारामेडिकल कर्मचारीले महत्वपूर्ण योगदान पु¥याउँदै आएकाले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उनीहरुलाई लक्षित गरेर अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा अस्पतालका ४ जना नर्सलाई डेजी अवार्डबाट सम्मान गरेको छ ।

अवार्ड पाउनेहरुमा नर्सहरु सम्झाना तामाङ, नीलीमा श्रेष्ठ, अञ्जली गोले र रोनिशा पाण्डे रहेका छन् । उनीहरुलाई अवार्ड र सम्मानपत्र प्रदान गरिएको छ । अस्पतालले उत्कृष्ट नर्सहरुको छनोटका लागि केही समयअघि मनोनयनको प्रक्रिया खुला गरेको थियो ।

जसमा बिरामी तथा बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक र अन्य कर्मचारीहरुले आफूलाई उत्कृष्ट लागेका नर्सलाई मनोनयन गर्ने व्यवस्था गरिएको थियो । मनोनयनमा परेकामध्येबाट उत्कृष्ठ १० भित्र परेका अन्य ६ जनालाई पनि अस्पतालले सम्मान गरेको छ । उत्कृष्ठ १० मा पर्नेहरुमा नर्सहरु सिर्जना धामी, सृजना धौलाकोटी, उषा पन्त, सदिक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जन रहेका छन् ।

नर्सहरुको सेवाभावको कदर र सम्मान गर्ने र उनीहरुको दक्षतालाई अन्तर्र्राष्ट्रिय रुपमा नै पहिचान दिने उद्देश्यले नर्भिक अस्पतालले डेजी फाउन्डेसनसँग सहकार्य गरेको हो । डेजी फाउन्डेसनमा हालसम्म ४६ देशका ७ हजार ९ सयभन्दा बढी स्वास्थ्य संस्थाहरु आबद्ध छन् ।

कार्यक्रममा नर्सहरुलाई बधाई दिँदै अस्पतालका निर्देशक मेघा चौधरीले नेपालमै पहिलोपटक नर्भिकले डेजी अवार्ड सुरु गरेको बताईन । उनले डेजी अवार्ड नर्सहरुको करुणामय सेवाको सम्मान हो भन्दै नर्सिङ टोलीप्रति प्रेम, सम्मान र गर्व गर्न चाहेको उल्लेख गरिन ।

कार्यक्रममा बोल्दै अस्पतालका नर्सिङ प्रमुख सरिता श्रेष्ठले नर्सहरुको करुणा, समर्पण, उत्कृष्ट सेवा र मानवीय सेवाप्रतिको सम्मान डेजी अवार्ड भएको बताईन् ।

नर्सिङ एसोसिएसन अफ नेपालकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्भिकले नर्सहरु लाई प्रोत्साहन गर्न डेजी अवार्ड सञ्चालन गरेकोमा खुसी व्यक्त गरिन । उनले नर्भिक अस्पताल नर्सहरुका लागि आइडल अस्पतालको रूपमा प्रस्तुत हुने अपेक्षा रहेको बताईन् ।

२१ जना नर्स र पारामेडिक्स कर्मचारी पनि सम्मानित

नर्भिक अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसरमा नर्भिकमा नै १० वर्षभन्दा बढी समयदेखि निरन्तर काम गरिरहेका २१ जना नर्सिङ तथा पारामेडिक्स कर्मचारीलाई पनि सम्मान गरेको छ । १० वर्षभन्दा बढी समयदेखि नर्भिकमै काम गरिरहेका सम्मानित नर्सिङ र पारामेडिकल कर्मचारीमा बुद्धिमाया बम्जन, विनिता गिरी, मेलिशा मलेकु, सैलिना श्रेष्ठ, मनिता महर्जन, सचिन खत्री र विनोद थापा रहेका छन् ।

यस्तै, रञ्जिता लिम्बु, सुष्मा श्रेष्ठ, सविना केसी, शिला सिल्पकार नकर्मी, साधना श्रेष्ठ, रामबाबु ठाकुर, अर्विन्द कुमार शाह, कविना शाही, केशवराज शर्मा खनाल, इश्वर गौतम, कृष्णाकुमारी श्रेष्ठ, जानुका पन्त, मीनाकुमारी उपाध्याय र सरीता रेग्मी शर्माले पनि सम्मान पाएका छन् । उनीहरु १० वर्ष देखि २५ वर्ष भन्दा बढी समयसम्म नर्भिकमा काम नै गरिरहेका कर्मचारीहरु हुन् ।

अस्पतालले सोही समारोहमा नर्भिक कलेज अफ हेल्थ साइन्सेज एण्ड टेक्नोलोजिजका २ जना उत्कृष्ठ नतिजा ल्याउने (टपर) विद्यार्थीलाई पनि सम्मान गरेको छ । सम्मान पाउनेहरुमा नर्सिङ कलेजकी टपर डिका बस्नेत र मौनता पोखरेल रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *