अतिरिक्त स्वास्थ्य सचिवका लागि नाम सिफारिस गर्ने बढुवा समितिको बैठक फेरी अनिश्चित

काठमाडौँ, २९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त एक अतिरिक्त स्वास्थ्य सचिव पदका लागि नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको बढुवा समितिले प्रक्रिया अघि बढाएको पाँच महिना नाघ्यो तर अहिलेसम्म नाम सिफारिस हुन सकेको छैन ।
लामो समय पछि गत शुक्रबार समितिको बैठक बसेपनि टुंगोमा पुग्न सकेन । त्यसबेला अर्को बैठक मंगलबार (आज) बस्ने गरी टुंगिएको थियो । तर आजै भने बैठक नबस्ने भएको छ । अब कहिले बैठक बस्छ निश्चित भएको छैन ।
बढुवा समितिका सदस्य सचिवको जिम्मेवारीमा रहेका मन्त्रालयका प्रशासन सचिव मातृशोकमा परि काजक्रियाका लागि विदा बस्नु पर्दा आजको लागि तोकिएको बैठक स्थगित भएको हो । सचिव शर्माकी आमाको सोमबार निधन भएको हो ।
मन्त्रालय स्रोतले अब सदस्य सचिव नै नभएको अवस्थामा समितिको बैठक बस्न नमिल्ने भन्दै अझै केही साता लम्बिन सक्ने संकेत गरेको छ । अब यसलाई काम छिटो टुंग्याउँ भनेर अर्को विकल्प खोजे त छिटो पनि होला एक अधिकारीले भने ।
यसअघि मन्त्रालयको बढुवा समितिको सचिवालयले गत २८ मंसिरमा १५ दिनको म्याद राखेर योग्यता पुगेका ईच्छुकलाई आवेदन दिन भनेको थियो ।अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले दुई वर्ष पदावधी बाँकी छँदै गत कात्तिक १९ मा पदबाट राजिनामा दिएपछि एक पद खाली भएको थियो । सोही पदमा अहिले बढुवा गर्न खोजिएको हो ।
अतिरिक्त स्वास्थ्य सचिवका लागि यसपटक डा. सुधा देवकोटा, डा. कृष्णप्रसाद पौडेल, डा. चुमनलाल दास, डा. विनोदविन्दु शर्मा, प्राध्यापक दुर्गालक्ष्मी श्रेष्ठको आवेदन परेको थियो ।
यस्तै नारायणप्रसाद ढकाल, डा. किरणमणि पौडेल, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. रुना झा, डा. यदुचन्द्र घिमिरे, डा. प्रमोद यादव डा. अभय पोख्रेल र डा. विष्णु प्रसाद शर्माको पनि आवेदन परेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

