साठी जना महिलामा एचपीभी पोजेटिभ

काठमाडौँ, २९ वैशाख । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क क्यान्सर परीक्षण शिविरमा सहभागी भएकामध्ये ६० जना महिलामा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) पोजेटिभ देखिएको छ।
महानगरले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ देखि २०८३ वैशाख २१ सम्म आयोजना गरेको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणका क्रममा यस्तो नतिजा आएको हो।
कुल २ हजार ७७९ जना महिलाको एचपीभी जाँच गरिएकामा हालसम्म १ हजार ७ सय जनाको रिपोर्ट प्राप्त भएको छ।
तीमध्ये १८ जनाको थप परीक्षण (कल्पोस्कोपी) गरिसकिएको छ। रिपोर्ट पोजेटिभ आएका महिलाहरूलाई प्रत्येक बुधबार र शुक्रबार वीर अस्पताल बोलाएर थप उपचार र कल्पोस्कोपी गर्ने व्यवस्था मिलाइएको छ।
शिविरमा स्तन क्यान्सर परीक्षण गराएकामध्ये ४११ जनाको मेमोग्राम गरिएको छ भने ४९४ जनाको भिडियो एक्सरे गरिएको छ।
परीक्षणका क्रममा ४५ जनाको पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) देखिएको छ भने केही महिलामा आङ् खसेको र पाठेघरको मुखमा सङ्क्रमण (पीआइडी) समेत फेला परेको छ।
यसरी गरिने सम्पूर्ण जाँच र प्रारम्भिक उपचारको खर्च महानगरपालिकाले नै बेहोर्ने हुँदा सेवाग्राहीलाई कुनै शुल्क नलाग्ने महानगरले बताएको छ।
चिकित्सकका अनुसार एचपीभी पोजेटिभ हुनु आफैँमा क्यान्सर हुनु होइन, तर यो क्यान्सर हुन सक्ने एउटा प्रमुख जोखिम हो।
यो भाइरस ५ देखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सर हुन सक्छ। विशेष गरी ३० देखि ६० वर्ष उमेर समूहका महिलाले हरेक ५ वर्षमा एक पटक यसको परीक्षण गराउनु पर्ने फोकल पर्सन चन्द्रा भट्टले बताए।
परीक्षणका लागि ३ हजार ४९४ जनाले नाम दर्ता गराएर रिफरल स्लिप लिए पनि २ हजार ९७५ जना मात्र अस्पताल पुगेका छन्। प्रक्रिया सुरु गरेर पनि ५१९ जना महिला सेवा लिन अस्पताल नपुग्नु खोजीको विषय बनेको भट्टले जानकारी दिए।
सानो उमेरमा यौन सम्पर्क भएका, धेरै पटक गर्भवती भएका, धुमपान गर्ने र प्रतिरक्षा प्रणाली कमजोर भएका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको जोखिम धेरै हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
त्यस्तै, ५० वर्ष काटेका र परिवारमा कसैलाई स्तन क्यान्सरको इतिहास भएका महिलाहरूलाई नियमित परीक्षण गराउन सुझाव दिइएको छ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

