ओम फर्मास्युटिकल्सले ल्यायो ग्यास्ट्रिक तथा एसिड समस्यामा प्रयोग हुने नयाँ औषधी ‘रेनोभ’

काठमाडौं, २६ वैशाख । ओम फर्मास्युटिकल्स ल्याव प्रालिले ग्यास्ट्रिक तथा एसिडसम्बन्धी समस्याको उपचारमा प्रयोग हुने भोनोप्राजानयुक्त नयाँ औषधी ‘रेनोभ’ नेपाली बजारमा ल्याएको छ।
औषधी व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले गत शुक्रबार देखि ‘रेनोभ १०’ र ‘रेनोभ २०’ नाममा क्रमशः १० एमजी र २० एमजी डोजमा औषधी उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार ‘रेनोभ’ नयाँ पुस्ताको पोटासियम–कम्पेटिटिभ एसिड ब्लकर (P-CAB) प्रविधिमा आधारित औषधी हो, जसले पेटमा बन्ने अतिरिक्त एसिडलाई छिटो तथा दीर्घकालसम्म नियन्त्रण गर्न मद्दत गर्छ।
‘रेनोभ’ ग्यास्ट्रो–इसोफेजियल रिफ्लक्स डिजिज (GERD), इरोसिभ इसोफेजाइटिस, ग्यास्ट्रिक तथा डुओडेनल अल्सरको पुनरावृत्ति रोकथाम तथा हेलिकोब्याक्टर पाइलोरी संक्रमणको उपचारमा सहायक थेरापीका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
यसलाई परम्परागत पीपीआई (Proton Pump Inhibitor) वर्गका औषधीभन्दा प्रभावकारी एसिड नियन्त्रण गर्ने आधुनिक उपचार विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ।
भोनोप्राजानलाई विश्वभर ग्यास्ट्राइटिस, एसिडिटी, एसिड रिफ्लक्स तथा अन्य एसिडसम्बन्धी समस्याको उपचारमा प्रयोग गरिँदै आएको छ। कम्पनीले नेपालमा यो नयाँ वर्गको थेरापी भित्र्याउने अग्रणीमध्ये आफू पनि रहेको जनाएको छ।
कम्पनीद्वारा सार्वजनिक प्रचार सामग्रीमा ‘Next Generation Therapy, Superior Acid Control’ अर्थात ‘नयाँ पुस्ताको थेरापी, अझ प्रभावकारी एसिड नियन्त्रण’ भन्ने सन्देश दिइएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गरिएको उक्त औषधीले नेपालभरका बिरामीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
‘रेनोभ’ चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।
ओम फर्मास्युटिकल्सले यसअघि ग्यास्ट्रिकमा प्रयोग हुन पेन्टोप्राजोल, ओमिप्राजोल, रेडिप्राजोल, इसोमीप्राजोल फास्ट रिलिजिङ ट्यावलेट लगायतका औषधीहरु उत्पादन गर्दै आएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

