अतिरिक्त स्वास्थ्य सचिवका लागि भएन सिफारिस, पुन: बस्ने गरि टुंगियो बढुवा समितिको बैठक

128
Shares

काठमाडौँ, २५ बैशाख । स्वास्थ्यमा रिक्त रहेको एक अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२ औँ तह)का लागि नाम सिफारिस गर्न आज अपरान्ह बसेको बढुवा समितिको बैठक विना निस्कर्ष टुंगिएको छ । बेलुका ५ बजे पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारमा बसेको बैठक प्रतिस्पर्धामा उत्रिएका आवेदकहरुको पुर्नमूल्यांकन गरेर अन्तिम टुंगो लगाउने गरी सकिएको हो ।

बैठकमा मुख्य प्रतिस्पर्धीहरुको नाम सञ्चारमाध्यमबाट सार्वजनिक गरिएको भन्दै लोक सेवा आयोगका पदाधिकारीहरुले स्वास्थ्यका अधिकारीहरुसंग असन्तुष्टि जनाएका थिए ।

‘आजको बैठकले सिफारिस गर्छ कि भन्ने लागेको थियो, तर एक पटक फेरी मूल्यांकन गर्ने र अन्तिम टुंगो लगाउने भन्ने निस्कर्षमा पुगियो । खासगरी योग्यता, तालीम, दुर्गम लगायतका कार्य सम्पादन मूल्यांकनका सबै अंक जोडेर हेर्ने कुरा भयो,’ एक सदस्यले भने ।

तीन जनाको टक्कर

अतिरिक्त स्वास्थ्य सचिव पदका लागि यसपटक उपत्यका बाहिर काम गरेका तीन जनाबीच कडा प्रतिस्पर्धा भएको बताइएको छ ।

लुम्बिनीमा स्वास्थ्य सचिव रहेकी नर्सिङ समूहकी दुर्गा लक्ष्मी श्रेष्ठ, डडेल्धुरा अस्पतालको नेतृत्व गरेकी डा सुधा शर्मा र लुम्बिनी अस्पतालका चिकित्सक किरणमणि पौडेलबीच तिब्र प्रतिस्पर्धा भएको बुझिएको छ ।

‘निक टू निक प्रतिस्पर्धा छ, प्रतिस्पर्धीहरुबीच केही दशमलव अंकले तलमाथि जस्तो छ । त्यसैले एकपटक फेरी दोहोरयाएर हेर्ने कुरा भएको छ । सम्भवत आगामी मंगलबार तिर बैठक बसेर सिफारिसको टुंगो लाग्न सक्छ,’ स्रोतले भन्यो ।

को कोले दिएका थिए आवेदन ?

अतिरिक्त स्वास्थ्य सचिवका लागि यसपटक डा सुधा देवकोटा, डा कृष्णप्रसाद पौडेल, डा चुमनलाल दास, डा विनोदविन्दु शर्मा, प्राध्यापक दुर्गालक्ष्मी श्रेष्ठको आवेदन परेको थियो ।

यस्तै नारायणप्रसाद ढकाल, डा किरणमणि पौडेल, डा राजन पाण्डे, डा चन्द्रभाल झा, डा रुना झा, डा यदुचन्द्र घिमिरे, डा प्रमोद यादव डा. अभय पोख्रेल र डा. विष्णु प्रसाद शर्माको पनि आवेदन परेको बताइएको छ ।

अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले दुई वर्ष पदावधी बाँकी छँदै गत कात्तिक १९ मा पदबाट राजिनामा दिएपछि एक पद खाली भएको थियो । सोही पदमा अहिले बढुवा गर्न खोजिएको हो ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले गत २८ मंसिरमा १५ दिनको म्याद राखेर योग्यता पुगेका ईच्छुकलाई आवेदन दिन भनेको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *