आईएसओ सर्टिफाइड राष्ट्रिय औषधी प्रयोगशाला तीन साता देखि नेतृत्व विहीन

80
Shares

काठमाडौँ, २५ बैशाख । राष्ट्रिय औषधी प्रयोगशालाको वेबसाइट खोल्दा अहिले पनि सो संस्थाको निर्देशक भरत भट्टराई नै उल्लेख छ । तर भट्टराईले प्रयोगशाला छाडेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएर हाजिर हुन थालेको तीन साता नाघि सक्यो ।

गत महिना मात्रै आईएसओ एक्रिडिटेसन सर्टिफाइड मान्यता प्राप्त गरेको प्रयोगशालामा नेतृत्व विहीन हुँदा अहिले मुख्य दैनिक कामहरु प्रभावित हुन थालेको छ ।

भट्टराई ३ बैशाखमा मन्त्रालय तानिएपछि कार्यवहाकको जिम्मा दशौँ तहकी संगिता साहले त पाएकी छन् तर उनी आईएसओ तालीमप्राप्त होइनन् । आईएसओ तालीम प्राप्त नभएकी शाहले आईएसओ मान्यता प्राप्त औषधीहरुको परीक्षण पछिको सर्टिफिकेटमा हस्ताक्षर गर्न मिल्दैन । त्यसो त उनलाई आर्थिक अधिकार पनि दिइएको छैन । त्यसले भुक्तानी देखि तलव सम्मका कामहरु रोकिएको छ । यति मात्रै होइन प्रयोगशालासंग जोडिने औषधी व्यवस्था विभागको कतिपय कामहरु ठप्प भएको छ ।

मन्त्रालयले विभिन्न प्रतिष्ठान, अस्पताल तथा बोर्डमा निमित्त निर्देशक तथा प्रमुखहरु पठाउँदा आफ्नो कार्यालयमा पनि कोही पठाउँछ कि भनेर प्रयोगशालाका कर्मचारीहरु आशामा थिए । तर बिहीबार सार्वजनिक भएको सूचीमा आफ्ना लागि कोही नआएपछि उनीहरु निरास छन् ।

‘संगिता म्याडमलाई नै निमित्त दिन पनि मिल्थ्यो तर उहाँ आईएसओ तालीम लिएकी हुनु भएन । त्यो तालीम नलिदा यहाँ हुने परीक्षण पछि दिइने प्रमाणपत्रमा सर्टिफाइड गर्न नमिल्ने रहेछ,’ एक कर्मचारीले भने । उनले यस विषयलाई मन्त्रालयले गम्भीरताका साथ लिई आवश्यक निर्णय गर्नु पर्ने बताए ।

आईएसओ मान्यता प्राप्त प्रयोगशालामा निमित्त निर्देशकको रुपमा काम गर्न तालीम लिएकै व्यक्ति हुनु पर्ने प्रावधान छ । मन्त्रालयमा रहेकी उषा तण्डुकार सबैभन्दा फिट हुने प्रयोगशालाका कर्मचारीहरु बताउँछन् । ‘तालीमप्राप्त त उषा म्याडम हुनुहुन्थ्यो तर मन्त्रालयले पठाउँछ कि पठाउँदैन,’ एक कर्मचारीले भने ।

मन्त्रालयले भने यस विषयमा विचार विमर्ष भईरहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *