बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न आठ जनाको आवेदन

काठमाडौँ, २२ बैशाख । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पाल)को अध्यक्ष पदका लागि आठ जनाको आवेदन परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ बैशाखमा एक साताको समय सिमा तोकेर अध्यक्ष पदका लागि दरखास्त आव्हान गरेको थियो । सोमबार (हिजो)सम्मको सो अवधीमा आठ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेहरुमा डा विजयचन्द्र आचार्य, डा विश्वराम पौडेल, डा अजयकुमार झा र प्राडा योगेन्द्रप्रसाद सिंह रहेका छन् । यस्तै डा लक्ष्मीनारायण सिंह, डा भावना वाग्ले, विकास आचार्य र डा जय श्रेष्ठले पनि अध्यक्ष बन्नका लागि आवेदन दिएका छन् ।
यसअघि अस्पताल विकास समितिको अध्यक्ष पदमा स्वास्थ्य मन्त्रालयको सिफारिसको आधारमा सिधै मन्त्रिपरिषद्ले गर्ने गर्दथ्यो । यसपटक भने खुला प्रतिस्पर्धा मार्फत अध्यक्ष छनौट गर्न खोजिएको हो ।
गत साता प्रकाशित सूचनामा अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदमा छनौट गर्न खोजिएको भन्दै त्यसका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान उल्लेख छ ।
तीन वर्षे कार्यकाल रहने उक्त पदमा यसअघि डा. विजयराज न्यौपाने कार्यरत थिए।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



