राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

दाङ, १८ वैशाख । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा दिनेश उप्रेतीसहितको टोलीले आज दुईजना बिरामीको एन्जियोप्लास्टि रिएको हो ।
पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक) भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा देवकोटाले बताए ।
उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धि हो । यसअघि मुटुको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था रहेको थियो ।
योसँगै मुटुसम्बन्धी बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले बताए । “उक्त उपचारका लागि १० करोड बराबरका सामग्री ल्याइएको छ । यसरी सामग्री तयारी गरेपछि पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ डा देवकोटालाई ल्याएर सेवालाई सुरुआत गरिएको हो”, उनले भने ।
प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो । जुन निदानात्मक उपचार थियो भने आज एनियोप्लाष्टी सेवा सुरु गरिएको हो ।
दाङमै यो सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले बताए ।
उनका अनुसार विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृतका लागि निवेदन पठाएकाले सूचीकृत हुने बित्तिकै बिरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने समेत उनको भनाइ छ । हाल मुटुको उपचारका लागि एक लाखभन्दा बढी खर्च लाग्ने गरेको छ ।
जब हृदयघात भएको थाहा भयो
रोल्पा थवाङ गाउँपालिका-५ निवासी ७५ वर्षीया धनजिता विकको मुटु दुख्ने, सास फेर्न गाह्रो हुने, पेट फुल्ने समस्या हुन्थ्यो ।
त्यसपछि उपचारका लागि परिवारले दाङका निजी अस्पतालहरूमा पुर्याए । तर, कुनै रोग पत्ता लागेन । गत शुक्रबार प्रतिष्ठानमा मुटुको परीक्षण गरियो, त्यसपछि पत्ता लाग्यो धनजितालाई हृदयघात भएको थियो । त्यसपछि उनको आज एनियोप्लाष्टी गरिएको अस्पताल स्रोतले जनाएको छ ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-९ निवासी ७५ बर्षीय गङ्गाधर कँडेलको पनि मुटुमा समस्या भएपछि हृदयघात भएको थियो । त्यो कुरा प्रतिष्ठानमा मुटु जाँच गराएपछि थाहा भएको परवारले बताएका छन् ।
उनीहरू दुवै जनाको एनियोप्लाष्टी गरिएको थियो । योसँगै अब नियमित एनियोप्लाष्टी हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालले बताए ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

