औषधी व्यवस्था विभागमा एक जना अधिकृतलाई तीन महाशाखाको जिम्मेवारी !

504
Shares

काठमाडौँ, १६ बैशाख । सरकारले आफूकहाँ आएका फाइल पेण्डिङमा नराख्न मातहतका सबै कर्मचारीहरुलाई निर्देशन दिएको छ । बालेन्द्र शाह नेतृत्वको बर्तमान सरकारले आम नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले यस्तो अभियान सुरु गरेको हो ।

तर, औषधी व्यवस्था विभागमा  कर्मचारी अभाव हुँदा दैनिक रुपमा काम फत्ते गर्न हम्मे हम्मे परेको छ ।

विभागमा रहेको तीनवटा महाशाखाको नेतृत्व अहिले एक जना कर्मचारीले लिनु परेको छ । उनी हुन निरीक्षण महाशाखाका प्रमुख किरणसुन्दर बज्राचार्य ।

त्यसो त उनले यसअघि निरीक्षण महाशाखासहित व्यवस्थापन शाखाको पनि जिम्मा लिनु परेको थियो । अहिले भने उनले आफ्ना पुराना दुई महाशाखाको जिम्मेवारीसहित दर्ता महाशाखाको पनि जिम्मेवारी लिनु परेको छ ।

दर्ता महाशाखामा रहेकी शिवानी खड्गी निमित्त महानिर्देशकको भूमिका सम्हाल्न गएपछि त्यसको जिम्मेवारी पनि विभाग हाल रहेका एक मात्रै दशौँ तहका अधिकृत बज्राचार्यले लिनु परेको हो ।

‘यो विभाग सेवाग्राही प्रत्यक्ष ठोकिने विभाग हो । त्यसैले यसमा जनशक्ति बढाउनु पर्छ भन्ने हाम्रो माग हो । तर भएकै दरबन्दीमा जनशक्ति नहुँदा समस्या परेको छ । शून्य बाँकी फाइल अभियान सञ्चालन गरेको सरकारलाई यसले राम्रो गर्दैन । त्यसैले तत्काल कर्मचारीको व्यवस्थापन मिलाउन मन्त्रालयको पटक पटक ध्यानाकर्षण पनि गराइएको छ,’ प्रवक्ता समेत रहेका बज्राचार्यले भने ।

उनले दुई वटा महाशाखाका लागि दशौँ तहका अधिकृत तत्काल पठाउन सरकारको ध्यानाकर्षण गराए । उनले आफु पहिले देखि नै सकेसम्म फाइल नरोक्ने नीतिमा रहेको भन्दै थप जनशक्ति तत्कालको आवश्यकता रहेको बताए ।

औषधीको मूल्य बृद्धि गैरकानूनी रुपमा गरेको भन्दै विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालय तानेपछि लफडा थप जटिल बनेको हो । पछिल्लो पटक राष्ट्रिय औषधी प्रयोगशाला प्रमुख भरत भट्टराईलाई पनि मन्त्रालयले आफूकहाँ तानेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *