‘स्क्यानदेखि क्राउनसम्म’ : आधुनिक दन्त उपचारको केन्द्र ‘केडीसी’मा अब सबै काम एउटै ठाउँमा

40
Shares
केडीसीको ल्यावमा रहेको (क्याड/क्याम) प्रणालीमा आधारित प्रविधिबारे सिक्दै सिकाउँदै चिकित्सक तथा प्राविधिकहरु

काठमाडौं, १६ बैशाख । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले अत्याधुनिक हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन सञ्चालनमा ल्याएको छ। दाँतको इम्प्लान्टको अवटमेन्ट, क्राउन, ब्रिज लगाउनु पर्ने जस्ता उपचार सेवाका लागि केडीसीले यो अत्याधुनिक प्रविधि भित्र्याएको हो ।

यसअघि यस्ता सेवाका लागि केडीसीमा एल्जीनेट सामग्री प्रयोग गरी डेन्टल इम्प्रेसन लिने प्रचलन थियो। यस प्रक्रियामा ट्रे भित्र राखिएको इम्प्रेसन सामग्रीलाई बिरामीको मुख भित्र हालेर टोक्न लगाई नापो लिने गरिन्थ्यो । जसले असहजता, समय खर्च र कहिलेकाहीँ कम सटीकता जस्ता समस्या निम्त्याउने गरेको थियो।

अहिले सञ्चानमा आएको हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन भने दन्त उपचारमा प्रयोग हुने कम्प्युटर एडेड डिजाइन तथा कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ (क्याड/क्याम) प्रणालीमा आधारित प्रविधि हो । जसले डिजाइन गरिएको दाँतलाई स्वचालित रूपमा उच्च सटीकताका साथ तयार गर्ने बताइएको छ ।

केडीसीले यस मेसिनबाट ‘ड्राइ’ र ‘वेट’ दुवै प्रकारको मिलिङ गर्न सक्ने भएकोले जिरकोनिया, सेरामिक तथा टाइटेनियम जस्ता विभिन्न सामग्रीमा क्राउन, ब्रिज र भेनियर लगायतका संरचना छिटो र गुणस्तरीय रूपमा उत्पादन गर्न सक्ने बताएको छ ।

यस्तै पूर्ण रूपमा अटोमेटेड र डिजिटलाइज्ड प्रणालीमा आधारित यो प्रविधि पछिल्लो समय एआईसँग पनि जोडिएको भन्दै उपचारलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले यस प्रविधिको प्रयोगले केडीसीको दन्त उपचार सेवा र शिक्षण सेवा दुवैमा ठूलो परिवर्तन ल्याउने बताए। ‘यो मेसिन नहुँदा हामी एनालग पद्धतिबाट सेवा दिन बाध्य थियौं,’ उनले भने, ‘अब हामी पूर्ण रूपमा अटोमेटेड, डिजिटलाइज्ड र एआईमा आधारित प्रविधिमा गएका छौं, जसले धेरै नै फाइदा दिन्छ।’

उनले यस प्रविधिको प्रयोगले बिरामीहरूले कम समयमा गुणस्तरीय उपचार पाउने अपेक्षा गरिनुको साथै विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रविधिसँग प्रत्यक्ष अभ्यास गर्ने अवसर प्राप्त गर्ने बताए ।

उनले केडीसीको यो पहलले नेपालमा दन्त उपचार क्षेत्रलाई डिजिटल प्रविधितर्फ अघि बढाउन महत्वपूर्ण योगदान दिने विश्वास गरे । यस्तै उनले यो नयाँ प्रविधि भित्र्याउने केडीसी शैक्षिक संस्थाहरुमा पहिलो भएको समेत दावी गरे ।

के हो यो नयाँ प्रविधि कसरी काम गर्छ ?

मेसिन आपूर्तिकर्ता कम्पनी गर्ग डेन्टल सप्लायर्सका सिनियर सर्भिस म्यानेजर सन्तोष कुइकेलका अनुसार यस ‘हाइब्रिड मिलिङ मेसिन’ले दाँतसम्बन्धी संरचना निर्माणमा लाग्ने समय घटाउनुका साथै उच्च सटीकता सुनिश्चित गर्छ। ‘पहिलेको तुलनामा अब काम छिटो, सफा र अझै विश्वसनीय भएको छ,’ कुइकेल भन्छन्, ‘केडीसी शैक्षिक प्रतिष्ठान समेत भएकोले विद्यार्थीहरूलाई पनि आधुनिक डिजिटल डेन्टिस्ट्री सिक्न सहज हुन्छ ।’

कुईकेलका अनुसार अहिले केडीसीमा भित्रिएको प्रविधि ‘कम्प्युटर एडेड डिजाइन तथा कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ (क्याड/क्याम)’ प्रणालीमा आधारित छ। यसअन्तर्गत ‘इन्ट्राओरल स्क्यानर’ प्रयोग गरेर बिरामीको मुखभित्रको संरचना, विशेषगरी टोक्ने सतह (बाइट) सहित, डिजिटल रूपमा स्क्यान गरिन्छ।

यसरी प्राप्त भएको डाटा ‘एसटिएल फाइल’ का रूपमा कम्प्युटरमा सुरक्षित हुन्छ।

यसअघि यस्तो फाइल बाहिरी ल्याबमा पठाएर डिजाइन तथा उत्पादन गराउनु पर्ने बाध्यता थियो। अब भने कलेजमै उपलब्ध डिजिटल ल्याबमार्फत सोही फाइललाई क्याड सफ्टवेयर प्रयोग गरेर डिजाइन गर्न सकिन्छ। यसका लागि ‘थ्रीशेप डेन्टल सिस्टम’ र ‘एक्जोक्याड’ जस्ता सफ्टवेयर प्रयोगमा ल्याइन्छ ।

डिजाइन तयार भएपछि क्याम प्रक्रियामार्फत हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन प्रयोग गरी क्राउन, ब्रिज, अलाइनर ट्रे लगायतका संरचना सिधै उत्पादन गर्न सकिन्छ। यसले अर्थोडन्टिक उपचारका लागि प्रयोग हुने अलाइनर समेत विशेषज्ञले डिजिटल रूपमा डिजाइन गरी तयार पार्न सक्ने सुविधा दिएको छ।

यसरी प्राप्त डिजिटल डाटालाई एसटीएल फाइलका रूपमा रूपान्तरण गरी डेन्टल ल्याबमा पठाइन्छ, जहाँ सीएडी सफ्टवेयर प्रयोग गरी क्राउन, ब्रिज वा भिनियरको डिजाइन तयार गरिन्छ। त्यसपछि सीएएम प्रणाली अन्तर्गतको मिलिङ मेसिनबाट ती संरचनाहरू स्वचालित रूपमा उत्पादन गरिन्छ।

‘यस मेसिनबाट ड्राइ तथा वेट दुवै प्रकारका मिलिङ प्रक्रिया सञ्चालन गर्न सक्छ,’ कुइकेल भन्छन्, “यस प्रविधिबाट जिर्कोनिया लिथियम डिसिलिकेट, वाक्स तथा टाइटेनियमजस्ता सामग्रीमा क्राउन, ब्रिज र भिनियर अत्यन्तै सटीकताका साथ निर्माण गर्न सकिन्छ ।’

उनका अनुसार लिथियम डिसिलिकेट क्राउन करिब ९० मिनेटभित्र र जिर्कोनिया क्राउन करिब तीन घण्टाभित्र तयार गर्न सकिन्छ। ‘परम्परागत विधिमा करिब ८० प्रतिशतसम्म सीमित सटीकता रहने गरेकोमा डिजिटल सीएडी सीएएम प्रणालीले ९९ प्रतिशतभन्दा बढी सटिकता प्रदान गर्छ,’ उनले दाबी गरे।

यो प्रविधिबाट अर्थोडोन्टिक अलाइनर समेत कस्टमाइज गरी निर्माण गर्न सकिन्छ, जसले दाँत मिलाउने उपचारलाई थप प्रभावकारी बनाउँछ। डिजिटल वर्कफ्लो, थ्रीडी मोडेलिङ तथा डिजाइन अप्टिमाइजेसनका कारण उपचार प्रक्रिया छिटो, विश्वसनीय र बिरामीमैत्री हुने समेत दावी गरे ।

‘यो प्रविधि सञ्चालनमा आएपछि अब सम्पूर्ण प्रक्रिया म्यानुअल विधिबाट नभई पूर्ण रूपमा कम्प्युटर आधारित प्रणालीमार्फत हुने भएको छ। जसका कारण कामको सटीकता बढ्नुका साथै समयसमेत उल्लेखनीय रूपमा घट्नेछ,’ कुइकेल भन्छन्, ‘अब सामान्य अवस्थामा करिब ३ घण्टाभित्र नै क्राउन तयार गरी बिरामीलाई लगाएर पठाउन सकिने अवस्था सिर्जना भएको छ ।’

कलेजका अनुसार यो पहल केवल सेवा विस्तारमा सीमित नभई दन्त शिक्षामा नवीन प्रविधि भित्र्याउने उद्देश्यले पनि गरिएको हो। ‘हामी क्लिनिकल सेवा मात्र होइन, आधुनिक प्रविधिको ज्ञान हस्तान्तरणमा पनि केन्द्रित छौँ,’ केडीसीका अध्यक्ष श्रेष्ठले भने ।

उनले छिटो छरितो र विश्वसनीय सेवाका लागि आधुनिक प्रविधि थप्दै जाने प्रणाली केडीसीमा समेत विकास भइरहेको भन्दै त्यसैको निरन्तरता स्वरुप यो प्रविधि भित्र्याइएको बताए ।

‘अहिले मान्छेसंग समय कम भए जस्तो छ, छिटो छरितो सेवा खोज्छ । यो प्रविधि पछि हाम्रो अस्पताल छिरेको तीन घण्टा भित्र व्यक्तिले दाँतमा क्राउन लगाएर वा ब्रिजिङ गरेर जान सक्ने भयो । दन्त उपचारका क्षेत्रमा यो ठूलो उपलव्धी हो.’ उनले भने ।

अहिले कम्पनीका प्राविधिकहरुले केडीसीको ल्यावमा आएर नयाँ प्रविधिबारे डेन्टिष्टहरुलाई प्रशिक्षण दिई रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *