‘भरतपुर क्यान्सर अस्पताल’को अध्यक्ष पदका लागि आवेदन माग

काठमाडौँ, १५ बैशाख । सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर (भरतपुर क्यान्सर) अस्पताल को रिक्त अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले सात दिन भित्र आवेदन पेश गर्न सक्ने बताएको छ ।
सूचनामा सो अस्पतालको ऐन २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क)मा उल्लेख भए बमोजिम योग्यता भनिएको छ । सो अनुसार अध्यक्ष बन्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्त उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त बरिष्ठ चिकित्सहरुमध्येबाट नेपाल सरकारले मनोनित गर्ने भनिएको छ ।
अध्यक्ष पदको पदावधी ३ वर्षको रहने छ ।
यसअघि २० चैत २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले डा बिजयराज न्यौपानेलाई अस्तपालको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको तीन वर्षे पदावधी सकिएपछि नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढेको हो ।
त्यसो त पहिले अध्यक्ष पदका लागि खुल्ला प्रतिस्पर्धा हुने थिएन । योग्यता पुगेका चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने चलन थियो । तर यसपटक भने अध्यक्ष पदका लागि पनि आवेदन माग गरिएको छ ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



