गर्भवती मृत्यु प्रकरण : उपचारमा संम्लग्न चिकित्सकको लाइसेन्स निलम्बन, स्वास्थ्य संस्था सिल

104
Shares

काठमाडौँ, १३ बैशाख । नेपाल मेडिकल काउन्सिलले रुपन्देहीका चिकित्सक डा. सतिश रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको छ । रुपन्देहीमा भएको गर्भवतन मृत्यु प्रकरणको छानविन गर्न नेपाल मेडिकल काउन्सिलद्धारा गठित समितिको सिफारिसको आधारमा काउन्सिलले डा रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

त्यसअघि समितिले शनिबार काउन्सिलका उपाध्यक्ष डा. कुञ्जाङ शेर्पा, रजिष्ट्रार डा सतिशकुमार देव लगायतका अधिकारीहरुलाई प्रारम्भि प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बुझे लगत्तै भर्च्योल रुपमा बसेको काउन्सिल बोर्ड बैठकले डा रूपाखेतीलाई निलम्बन गर्ने निर्णय हो । यस्तै बैठकले गर्भवतीको उपचारमा संलग्न भएका संस्था जोनल फार्मेसी र ईन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गर्न जिल्ला प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न सिफारिस भएको रजिष्ट्रार डा देवले बताए ।

पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेयको झन्डै १४ हप्ताको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो । तर, गीताका परिवारले १२ हप्ताको भन्दै आएका छन् । छानबिन समितिको प्रतिवेदनले १३ हप्ता भन्दा बढी समयको गर्भ रहेको औंल्याएको छ ।

त्यस्तै छानबिन समितिले गीता पाण्डेयलाई गर्भपतनको औषधि उपलब्ध गराउने जोनल फार्मेसी र अन्तिम अवस्थामा गर्भपतनका लागि संलग्न रहेको ईन्दुलेखा स्वास्थ्य क्लिनिकले सेवा प्रवाहका लागि स्वीकृति नलिएको देखिएको छ ।

बुटवलमा भएको घटनाले देशभरका निजी स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, कानुनी बैध्यता र नागरिकको सेवा प्राप्त गर्ने अधिकारका विषयमा गम्भीर रूपमा अध्ययन गर्नुपर्ने देखिएको नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पाले बताए ।

‘चिकित्सकहरूको आचारसंहिता २०१७ का आधारमा तत्कालका लागि निलम्बन गरिएको हो,’ उनले भने, ‘छानबिनको अन्तिम प्रतिवेदन नआएसम्मका लागि अहिले कारबाही गरिएको हो ।’ छानबिनकै क्रममा फौजदारी अभियोग पनि आकर्षित हुन सक्ने भएकाले अन्तिम कारबाही मेडिकल काउन्सिलको अन्तिम छानबिनपछि मात्र हुने उनले बताए ।

मेडिकल काउन्सिलले गीता पाण्डेयको मृत्युपछि मेडिकल काउन्सिलका केन्द्रीय सदस्य एवं डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिको सदस्यमा प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र नागरिक समाजका तर्फबाट पत्रकार दिनेश पाण्डे सदस्य थिए ।

समितिका सदस्य पाण्डेका अनुसार समितिले २६ पेजको प्रतिवेदनमा डाक्टरलाई कारबाही, स्वास्थ्यकर्मीलाई कारबाही, स्वास्थ्य संस्था बन्दको सिफारिसदेखि नियमित अनुगमन, प्रचलित कानुनविपरीत संचालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता गराउने र नियमन गर्नेसम्मका सुझाव दिएको बताए ।

‘समितिले प्राप्त गरेको कार्यादेशका आधारमा गीताको उपचारका प्राविधिक पक्षदेखि स्वास्थ्य संस्थाका कमजोरीका विषयसम्म औंल्याएको छ,’ उनले भने, ‘समितिले ७२ घन्टाको अवधिमा धेरै मिहिनेत गरेर सत्यतथ्य बाहिर ल्याउने प्रयास गरेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *