अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको ‘एलडीपी’ कार्यक्रमका लागि डा. अरुण शाही छनौट

काठमाडौँ, १२ बैशाख । युवा मेडिकल अन्कोलोजिस्ट डा अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)द्वारा सञ्चालन हुने प्रतिष्ठित ‘नेतृत्व विकास कार्यक्रम’ (एलडीपी) २०२६-२०२७ का लागि छनोट भएका छन्।
एस्कोले यो कार्यक्रम विश्वभरका उदयीमान अन्कोलोजिस्टहरूको नेतृत्व विकास, नीतिगत सोच र क्यान्सर उपचार क्षेत्रमा प्रभावकारी भूमिका निर्वाहका लागि सक्षम बनाउने उद्देश्यले सञ्चालन गर्दछ ।
डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवद्ध छन्।डा शाहीको छनोटले नेपाली स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर उपचार क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व अझ मजबुत बनाएको एस्कोद्वारा जारी सूचनामा उल्लेख छ।
‘यो एक वर्षे कार्यक्रम अन्तर्गत सहभागीहरूलाई नेतृत्वसम्बन्धी तालिम, अन्तरक्रियात्मक सिकाइ र अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्ने अवसर प्रदान गरिन्छ,’ त्यहाँ भनिएको छ,’कार्यक्रमले सहभागीहरूलाई एएससीओको रणनीति, नीतिगत दिशा र विश्वव्यापी क्यान्सर उपचारमा यसको प्रभावबारे गहिरो समझ विकास गर्न सहयोग पुर्याउँछ।’

क्यान्सर रोग विशेषज्ञहरूले एस्कोद्धारा प्रदान हुने नेतृत्व विकास कार्यक्रममा छनोट हुनुलाई एकदमै ठूलो सम्मान र महत्वपूर्ण उपलब्धि ठान्छन्। यस सिजनमा सो अवसर प्राप्त गर्ने डा. शाही अमेरिका बाहिरका एक्ला चिकित्सक हुन् ।
डा. शाहीले भने यसलाई व्यक्तिगत उपलब्धि मात्र नभई नेपालका अन्कोलोजिस्टहरूको क्षमता, मेहनत र सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्। ‘कार्यक्रममा विश्वभरिका उत्कृष्ट क्यान्सर विशेषज्ञहरूसँग सिक्ने, सहकार्य गर्ने र पेशागत सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त हुन्छ,’ उनले भने।
यो कार्यक्रमले नेतृत्व, नीतिनिर्माण र जनचेतना अभिवृद्धि जस्ता क्षेत्रमा काम गर्ने क्षमता विकास गराउने उनको विश्वास छ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

