नेपालमा न्युरो सर्जरी सेवा प्रारम्भ गर्ने प्राडा दिनेशनाथ गोंगलको निधन

36
Shares

काठमाडौँ, ८ बैशाख । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक प्राडा दिनेशनाथ गोंगलको निधन भएको छ । ९२ वर्षीय गोंगलको मंगलबार विहान आफ्नै घरमा निधन भएको हो ।

उनको मंगलबार नै दाहसंस्कार गर्ने तयारी भएको छ। बरिष्ठ न्युरो सर्जन डा प्रकाश बिष्टले प्राडा गोंगलको निधनले नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको डा बिष्टले टिप्पणी गरेका छन् ।

प्राडा गोंगलले आफ्नो करिअरभरि न्युरोसर्जरी मात्र होइन, पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गरेका थिए। उनी चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का संस्थापक निर्देशक समेत थिए।

वीर अस्पतालमा करिब चार दशक सेवा दिएका उनले ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए। १९८९ चैतमा काठमाडौंमा जन्मिएका डा गोंगलको पुख्र्यौली घर पाल्पाको तानसेन हो।

जुद्धोदय स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी र बीएस्सी पूरा गरे। भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेका उनले भारतकै बम्बईस्थित ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका हुन् ।

उनले विसं २०२४ सालमा वीर अस्पतालमा कार्डियोथोरासिक भास्कुलर सर्जरी (सीटीभीएस)को विशेषज्ञ सेवा सुरु गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *