के श्याम्पूले बिग्रिएको कपाल बनाउन सक्छ ?

कपालबारे चार भ्रम र यथार्थ
16
Shares

हामी सबै स्वस्थ देखिने र महसुस हुने कपाल चाहन्छौँ, चाहे त्यो चम्किलो देखिने र फरफराउने होस् वा घुम्रिएको होस् वा नरम र मुलायम होस्।

यूकेमा ५.८ अर्ब पाउन्डको उद्योगमा कपालसम्बन्धी अनन्त उत्पादनहरू, प्रवृत्तिहरू र टिकटक ‘ह्याक’हरू जताततै देखिन्छन्।

सत्य के हो भने स्वस्थ कपाल हुनु भनेको जटिल दिनचर्या हुनु वा भाग्यले पाउनु होइन। यो त साधारण सामानहरूलाई सही तरिकाले प्रयोग गर्नु हो।

यूके हेयर कन्सल्टन्ट्सकी केशविशेषज्ञ इभा प्राउडम्यान र हेयर एन्ड स्क्याल्प क्लिनिकका ट्रेसी वाकरले कपालको हेरचाह कसरी गर्ने भन्नेबारे चार सामान्य भ्रमहरू चिरेका छन्।

१. चिसो पानीले कपाल चम्काउँदैन

कपाल चम्किलो बनाउन भन्दै बरफ भएको पानीले नुहाएर काँप्नुभएको छ ? यदि त्यस्तो गर्नुभएको छ भने तपाईँले त्यसो गर्न छोड्न सक्नुहुन्छ र आफूलाई सहज हुने तापक्रमको पानीले नुहाउन सक्नुहुन्छ। प्राउडम्यानका अनुसार चिसो पानीले नुहाएर कपालमा चमक आउँदैन।

“एकदमै चिसो पानीमा नुहाउन आवश्यक छैन किनभने यसले केही पनि गर्दैन,” उनले भनिन्। “के चाहिँ महत्त्वपूर्ण हो भने तपाईँले आफ्नो कपाललाई कसरी रसायनहरू र तातोबाट बचाउनुहुन्छ र कस्तो वातावरणबाट बस्नुहुन्छ भन्ने हो।”उनले एकदमै तातो पानीले पनि कपाल धुन नहुने बताएकी छन्। त्यसो गर्दा कपालमा पानीको मात्रा घट्छ र जसरी तातो पानीले हाम्रो अन्य छाला सुक्खा हुन्छ, त्यसै गरी कपाल भएको टाउकोको छाला पनि सुक्खा हुन्छ।

२. बिग्रिएको कपाल कुनै पनि उत्पादनले ठिक गर्न सक्दैन

हाँगा फाटेको कपाललाई नकाटी त्यसलाई ठिक गर्छु भनेर लाग्नुभयो भने त्यसले काम गर्दैन किनभने त्यसको एउटै उपाय भनेकै कपाल काट्नु हो।

कपालको हाँगा फाट्नु भनेको तपाईँले लगाउने तन्किने कपडामा धागो तानिएर बनेको लामो धर्सोजस्तै हो, जुन बनाएर बन्न सक्दैन।

वाकर भन्छिन् : “कपाल टुक्रिएको तपाईँ कल्पना गर्नुहुन्छ भने र माइक्रोस्कोपको तल राखेर हेर्नुभयो भने तपाईँले त्यसमा दुई वा तीनवटा त्यस्तै कपालका धाँजाहरू देख्नुहुन्छ।”

“बजारमा पाइने उत्पादनहरूले एक प्रकारको टाँस्ने काम गर्छन् वा ती धाँजा फाटेका कपालहरूलाई जोडिदिन्छन् ताकि त्यो राम्रो देखियोस्।”

उनका अनुसार अस्थायी रूपमा मर्मत गर्न सकिन्छ तर त्यसको अर्थ समाधान हुन्छ भनेर यस्ता उत्पादनहरूमा धेरै पैसा खर्च नगर्न उनी सुझाउँछिन्।

प्राउडम्यानले कपाल काट्यो भने छिटो बढ्छ भन्ने दाबीहरू पनि सत्य नभएको बताइन्।

“कपाल छिटो बढाउन पनि सम्भव हुँदैनर त्यसैले त्यस्तो दाबी गरिएका उत्पादनहरूले ढाँटिरहेका हुन्छन्।”

३. कपाल आफैँ सफा हुँदैन

तपाईँले सायद कसैलाई भेट्नुभएको छ होला जसले बारम्बार कपाल धुँदैनन् वा धुँदै धुँदैनन् र “आफैँ सफा” हुने बनाउँछन्।

तर प्राउडम्यानका अनुसार यसो गर्दा तपाईँको कपाल वास्तवमै राम्रो हुँदैन। “तपाईँको कपाल आउने तालुमा १,८०,००० तेलका ग्रन्थीहरू हुन्छन् र यदि नियमित रूपमा कपाल धोइएन भने फोहोर जम्मा हुन्छ।”

लुगा पानीबाट मात्रै सफा हुँदैन र डिटर्जेन्ट चाहिन्छ भन्नेमा वाकर सहमत छिन्।

कपाल पनि नियमित ननुहाउँदा गन्ध आउन थाल्छ र तालुको अवस्था खराब भई चायाँ आउँछ। उनी भन्छिन्, “कपाललाई चिल्लो हुन दिँदा त्यसबाट यीस्ट र ब्याक्टेरिया बन्छ अनि तपाईँको छालाको अवस्था अझै खराब भई चिलाउने गर्छ।”

तपाईँको कपाल एकदमै चिल्लो हुन्छ र तपाईँ धेरै प्रकारका उत्पादनहरू प्रयोग गर्नुहुन्छ भने एक दिन बिराएर नुहाउन प्राउडम्यान सुझाउँछिन्।

हडर्सफील्ड विश्वविद्यालयमा फार्मसूटिकल अन्यालसिसकी प्राध्यापक लउरा वाटर्स धेरै चिल्लो कपाल भएकाहरूले मज्जाले नुहाएर फाइदा लिन सक्ने बताउँछन्। तर सुक्खा कपाल भएका व्यक्तिहरूले अलि महँगो पर्ने सल्फेट नभएको श्याम्पू प्रयोग गर्न सक्ने उनी बताउँछिन्।

४. कपाल धुनुको सट्टा ‘सुक्खा श्याम्पू’ प्रयोग गरेर हुँदैन

कपाल पूरै धोएर राम्ररी स्टाइल दिने गरी सुक्खा बनाउनु (‘ब्लो ड्राई’ गर्नु) सधैँ व्यावहारिक नहुन सक्छ। त्यसैले काम, व्यायाम र सामाजिक योजनाहरू गर्दा हामीमध्ये धेरैले तत्कालका लागि सुक्खा (‘ड्राई’) श्याम्पू प्रयोग गर्न सक्छौँ।

प्राउडम्यान यस्तो श्याम्पू प्रयोग गर्न ठिक हुने तर त्यो एक पटकको प्रयोगका लागि मात्रै हुने र बारम्बार त्यही प्रयोग गर्न नहुने बताउँछिन्।

बारम्बार एकपछि अर्को पटक नुहाउनुको सट्टा ड्राई श्याम्पू प्रयोग गर्दा समस्या उत्पन्न हुने उनी बताउँछिन्।

“टाउकोको प्राकृतिक तेल श्याम्पूसँग मिल्छ र त्यसबाट यीस्ट बन्छ,” प्राउडम्यान भन्छिन्। “तपाईँ यदि सावधान हुनुभएन भने चिलाउने र तालु बिग्रिने हुन्छ।”

उनको सल्लाह भनेको तपाईँले अनुहारलाई जस्तै टाउकोलाई पनि हेरचाह गर्ने तरिकामा ध्यान दिनुपर्छ – तपाईँ आफ्नो छालामा भएको मेकअप सफा नगरी मेकअपमाथि फेरि मेकअप नथपेजस्तै कपाललाई पनि बारम्बार धुनुपर्छ।

  • बीबीसी न्यूज
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *