तेल, रक्सी, मुटु र हाम्रा चाडपर्व

डा. प्रकाशराज रेग्मी (बरिष्ठ मुटुरोग विशेषज्ञ)
डा. प्रकाशराज रेग्मी
(बरिष्ठ मुटुरोग विशेषज्ञ) – prregmi@wlink.com.np

मलाई धेरै मुटुका रोगीहरुले एउटा साझा प्रश्न सोध्ने गर्नुहुन्छ, कुन चाहीँ खाने तेलले मुटुलाई फाईदा गर्छ डाक्टर साब ? धेरै मानिसहरु खाने तेल, कोलेस्टेरोल र अन्य चिल्लो खाद्य पदार्थका बारे भ्रममा परेका देखिन्छन् ।

आज भन्दा केही वर्ष अगाडी सम्म बजारमा मुख्य रुपमा तोरीको तेल मात्र पाइन्थ्यो । धेरै ले तोरीकै तेलमा तरकारी पकाएर खाने गर्थे । शुद्ध चाहिँदा र रोटी, पुरी पकाउँदा गाई भैँसीको घिउ प्रयोग हुन्थ्यो । आज बजारमा तोरी लगाएत भट्मास, सुर्यमूखी, मकै, बदाम, ओलिभ आदि, धेरै थरीका खाने तेलहरु पाइन्छन छन् ।

अहिले उद्योग व्यापारको प्रोत्साहन गर्ने जमाना छ । तेल उद्योगहरुले पनि त्यो बाटो छोड्ने कुरै भएन । नानाथरी आकर्षक विज्ञापनहरु गरेर आ आफनो उत्पादन स्वास्थ्यका लागि फाइदाजनक छ, मुटुलाई स्वस्थ र बलियो बनाउछ, हर्ट अट्याक हुन बाट बचाउँछ, शत प्रतिशत कोलेस्टेरोल विहिन छ जस्ता सन्देश सहितका विज्ञापनहरु बजाई जनमानसलाई भ्रम सिर्जना गरेको समेत देखिन्छ ।

केही समय अघि एउटा विज्ञापन आउथ्यो तोरीको तेल उत्पादक कम्पनीले एकजना सेलिब्रेटी पाइलटलाई विज्ञापनमा प्रयोग गरेर “साहसी बन्न बलियो मुटु चाहिन्छ र यसका लागि म १५ वर्ष देखि फलानो तोरीको तेल खाने गर्छु”  भन्ने जस्तो गलत र भ्रामक सन्देश प्रसारित गरिरहेको थियो ।

यस्तै गरी सूर्यमूखी तेलमा कत्ति पनि कोलेस्टेरोल हुँदैन यसकारण यो मुटुका लागि फाइदा जनक छ भन्ने भ्रामक प्रचारबाजी पनि आइरहेको छ । यस कारण तेल र चिल्लो पदार्थको सबैलाई सत्य तथ्य जानकारी हुनु जरुरी छ ।

बास्तविकता के हो त ?

चिल्ला खाद्य पदार्थ भन्ने बित्तिकै घिउ र तेल बुझिन्छ । खाना पकाउन धेरै जसो बनस्पति तेल को प्रयोग गरिन्छ । तेलको बैज्ञानिक नाम, ट्राईग्लिसेराइड हो । ३ अणु फ्याटी एसिड र १ अणु ग्लिसेरोल भएको रसायनिक बस्तु हो ट्राईग्लिसेराइड । तेलमा ३ प्रकारका फ्याटी एसिड पाइन्छन् । स्यायूरेटेड, मोनोअजस्याचुरेटेड र पोलि अनस्याचुरेटेड ।

स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानी गर्दछ । भने अनस्याचूरेटेडले केही मात्रामा फाइदा पनि गर्दछ । लाभदायी मोनो र पोली अनस्याचूरेटेड फ्याटी एसिडले रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मदत पु¥याउछ । यस्ता लाभदायी तत्व कुनै तेलमा बढी र कुनैमा घटी हुन्छ । यस बाहेक तेलमा प्रशस्त मात्रमा टईग्लिसेराइड हुन्छ जसले हृदयघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर पार्ने गर्दछ ।

आम जनतालाई यो कुरा जानकारी नभएको हुनाले तेल उत्पादक उद्योगहरुले यसको फाइदा उठाउने गरेका हुन् । विदेशबाट आयात गरिएको सूर्यमूखी तेलको सिसीलाई हेरौं । त्यसको बाहिर ठूलो अक्षरमा लेखिएको हुन्छ “शतप्रतिशत कोलेस्टेरोल फ्रि” कुरा एकदम ठीक हो । कुनै पनि वनस्पति तेलमा कोलेस्टेरोल पाइदैन ।

कोलेस्टेरोल जनावरबाट उत्पादन हुने चिल्लो पदार्थ र ध्यू, मखन आदीमा मात्र पाइन्छ । सूर्यमूखी वा अन्य तेलहरुमा कोलेस्टेरोल पाइदैन तर यिनमा ९५ प्रतिशत फ्याटी एसिड पाइन्छ । यो तथ्यलाई गोप्य राखेर कोलेस्टेरोल फ्रि भन्ने शब्दलाई जोडतोडका साथ प्रचार गरिएको हुन्छ ।

चिल्लो पदार्थ चाहे त्यो तेल होस वा घिउ, शरीरका लागि आवश्यक छ । तेलमा कोलेस्टेरोल हुदैन तर अनस्याच्यूरेटेड फ्याट बढी हुन्छ । यस्तै घिउमा कोलेस्टेरोल र स्याच्यूरेटेर फ्याट बढी हुन्छ । मुटु का लागि कोलस्टेरोल र स्याच्यूरेटेड फ्याट बडी हानीकारक छन् ।

यस कारण तेल अण्डा घिउ मुटुका लागि बढी हानीकारक छ भनिएको हो । तर यसको मतलव तेल फाइदाजनक छ भन्ने चाही होइन । घिउको तुलनामा तेल कम हानिकारक छ भन्ने मात्र हो ।

चिल्लो पदार्थलाई धेरै पल्ट तताउदा त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ । ट्रान्सफ्याट स्वास्थ्यका लागि धेरै नै हानीकारक छ । यस कारण डिप फ्राई गरेर पकाएका परिकारहरु स्वास्थ्यका लागि हानिकारक छन् । यसवाट मुटुरोग, क्यान्सर आदी उत्पन्न हुन सक्छन् ।

चिल्लो खाद्य पदार्थहरु मध्ये घिउ भन्दा तेल वेस र तेलहरुमा शुद्ध तोरीको तेल सबै भन्दा उत्तम मानिन्छ किनकी तोरीको तेलमा गुनकारी तत्वहरु अरुमा भन्दा धेरै मात्रामा पाइन्छ । यो तेल धेरैपटक तताउँदा पनि ट्रान्सफ्याट परिवर्तन हुँदैन  ।

छाला भएको मासुमा धेरै कोलेस्टेरोल हुन्छ

आज तिहारको सम्मुखमा आइपुगेका छौँ । यो पर्बमा चिल्लो, बोसो, मासु धेरै खाने चलन छ । मुटु रोगीहरुले यस्तो परिकार खाँदा धेरै बिचार पु¥याउनु पर्छ । छाला भएको मासुमा बोसो र कोलेस्टेरोल धेरै हुन्छ ।

चिल्लोमा फ्राई गर्दा यो झन् हानिकारक बन्न पुग्छ । यस कारण बोसो, छाला नभएको मासु खाने प्रयास गर्नु पर्छ । उसिनेर वा रोष्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खाँदा हरियो साग पात र सलादसँग खानु उत्तम हुन्छ ।

तेल जस्तै रक्सीका बारेमा पनि जनमानसमा एउटा भ्रम छ । त्यो के भने अलिकता पिउने ग¥यो भने मुटु बलियो हुन्छ भन्ने रक्सी पिउने चलनपरापूर्व काल देखिको हो । हिजोआज रक्सी नपिउने मानिस एक्लो जस्तै हुन्छ अनी रक्सी नराखिएको भोज खल्लो जस्तो हुन्छ ।

रक्सीमा ठूलो शक्ति छ । यसले मान्छेलाई पशु बनाउन सक्छ । साथै मान्छेको शरिरका अंगहरुलाई क्षतविक्षत पार्न सक्छ । रक्सी थोरै खाए औषधी हुन्छ धेरै खाए विष हुन्छ । ठीक्क मात्रामा लिँदा फाइदा गर्छ भन्ने बहाना बनाई रक्सी पिउने बानी बसाल्नु हुदैन । रक्सीले रक्तचाप बढाउछ, मस्तिष्कघात गराउछ , हार्ट फेल गराउँछ ।

चाड पर्वको वेलामा रक्सी मासु टन्न खाने चलन छ । जुन स्वास्थ्यका लागि अत्यन्तै हानीकारक छ । चिल्लो पनि रक्सी पनि एकसाथ मिसिदा, मुटुको गति एकदम छिटो छिटो वेतालसंँग चल्ने हुन सक्छ ।

यसलाई Holiday Heart Syndome भनिन्छ । यो अवस्था धेरै जसो चाडपर्वमा हुन्छ । दशैँ तिहार जस्ता पर्वमा अरुबेला भन्दा धेरै हुन्छ किनकी खसीको कवाफ र रक्सी खाँदा मिठो तर मुटुलाई भन्ने क्षती ।

चिल्लो पदार्थ, तेल, घिउ, रक्सी, मासु आदीका सम्बन्धमा के, कसरी र कति खाने हो भन्ने बारे जानकारी राखी स्वास्थ्यमा हानी नपुग्ने गरी उपभोग गर्नु सबैका लागि सदैका लागि उत्तम हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *