शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र : मिर्गौैला र कलेजो सबैभन्दा बढी प्रत्यारोपण गर्न सफल अस्पताल

केन्द्रमा हालसम्म ३३ जनाको भयो कलेजो प्रत्यारोपण
136
Shares

भक्तपुर, २१ चैत । देशमै सबैभन्दा धेरै मिर्गौला प्रत्यारोपण गर्न सफल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र धेरै कलेजो प्रत्यारोपण गर्ने संस्थाहरुको सूचीमा पनि पहिलो नम्बर छ । केन्द्रमा हालसम्म ३३ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

केन्द्रमा पछिल्लो पटक चितवनका एक ३९ वर्षीय पुरुषको प्रत्यारोपण भएको छ । गत १२ चैतमा कलेजो प्रत्यारोपण भएपछि आठौँ दिनमा उनी गत मंगलबार डिस्चार्ज भए । उनलाई ३७ वर्षीया आफ्नै श्रीमतीले कलेजो दान गरेकी थिईन् । कलेजो दान गर्ने श्रीमती भने छैटौँ दिनमा नै डिस्चार्ज भएकी हुन् ।

देशकै पहिलो कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठका अनुसार केन्द्रले देशको नियमित दुई तिहाई कलेजो प्रत्यारोपण गर्ने गरेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १५ लाख देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुने गरेको सुनाउँदै उनले कलेजो प्रत्यारोपणको यो खर्च संसारमै सबै भन्दा कम भएको दावी गरे ।

२२ मंसिर २०७३ मा नेपालमै पहिलो कलेजो प्रत्यारोपण गर्न सफल यो संस्थाले पछिल्लो एक वर्षमा नै १५ जनाको प्रत्यारोपण गरेको छ । मिर्गौला भने बार्षिक २०० जनाको हुने गरेको छ । आफ्नो भवन नभएको, सिमित जनशक्तिका बीच पनि देशकै सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्न सफल यस केन्द्रलाई सरकारले उपयुक्त जग्गा उपलव्ध गराए आफ्नै स्रोतबाट ३०० शैय्याको अस्पताल बनाउने योजना राखेको अस्पतालका निर्देशक डा श्रेष्ठले बताए ।

उनले ठूलो संख्यामा मिर्गौला र कलेजो प्रत्यारोपण गरिरहेको यो केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा अघि बढाउन सके मिर्गौला र कलेजो प्रत्यारोपणमा ३०० गुणाले बृद्धि हुने समेत उनले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *