काठमाडौँमा अब दुई पाङ्ग्रे एम्बुलेन्स सेवा समेत सञ्चालन गर्ने तयारीमा महानगर

काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यका होस् या मोफसल, अहिलेसम्म चार पाङ्ग्रे एम्बुलेन्स कुदिरहेको छ । तर अब भने काठमाडौँमा चार पाङ्ग्रे संगसंगै दुई पाङ्ग्रे एम्बुलेन्स पनि कुद्ने भएको छ ।
काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारीबीच आज भएको छलफलमा महानगरका निमित्त प्रमुख सुनिता डंगोलले दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनका लागि तयारी अघि बढाउन निर्देशन दिईन ।
उनले बढी भिडभाड भएका ठाउँमा, आपतकालीन अवस्थामा तत्काल सेवा दिन पर्ने अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल फिल्डमा पुरयाउनका लागि दुई पाङ्ग्रे एम्बुलेन्सको प्रयोग गरिने बताईन ।
उनले भनिन्, ‘पुरानो संरचना भएका कारण एम्बुलेन्स काठमाडौँका गल्ली गल्लीमा पुग्दैन, सडकमा देखिने बाक्लो सवारी चापले पनि कहिलेकाँही समस्या पारेको हुन्छ । त्यसैले सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी वा घाइते भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ ।’
कार्यवहाक प्रमुख डंगोलले दुई पाङ्ग्रे एम्बुलेन्स सेवालाई प्रि हस्पिटल मेडिकल सर्भिसको रुपमा अघि बढाउने योजना रहेको स्पष्ट पारिन ।
उनले नेपाल एम्बुलेन्स सर्भिसलाई पनि बिरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पुरयाउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आईपुग्यो? एम्बुलेन्समा को को छन् ? बिरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएकी छन् ।
त्यसो त महानगरले एम्बुलेन्स सेवाका लागि २०७६ बैशाखमै नेपाल एम्बुलेन्स सेवासंग यस सम्वन्धी सम्झौँता गरेको छ । त्यस यता १३ करोड ४४ लाख रुपैयाँ अनुदान दिईसकेको महानगरले जनाएको छ । उसले एक जना बिरामीका लागि ६ हजार ६०५ रुपैयाँ खर्च हुने गरेको र यो महानगरपालिकाले व्यहोर्दै आएको जनाएको छ ।
बुधबारको छलफलमा महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी, वित्त विभागका प्रमुख डा शिवराज अधिकारी लगायतले धारणा राखेका थिए । उता नेपाल एम्बुलेन्स सेवाका तर्फबाट उपाध्यक्ष डा अनिल श्रेष्ठ, सदस्य डा आशिष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अमित जोशीले धारणा राखेका थिए ।
सो अवसरमा जोशीले महानगरपालिकासंग सहकार्य भएपछि ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरेको बताए । उनले अहिले काठमाडौँ महानगर भित्र ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोवाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा गरी कुल १० वटा एम्बुलेन्सबाट सेवा प्रदान भईरहेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 