राष्ट्रपति कार्यालयको निर्देशन पछि नयाँ मन्त्रीको पदवहालीका तयारी गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १३ चैत । राष्ट्रपति कार्यालयबाट नयाँ मन्त्रीको पदवहालीका लागि तयारी गर्नु भन्ने निर्देशन आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तयारीमा जुटेको छ ।
अबको सवा तीन घण्टा पछि देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् ।
आज नै उनको मन्त्री मण्डल विस्तार हुनेछ । अर्थात विभागीय मन्त्रीहरुको सपथ र पदवहाली पनि आज नै हुँदैछ । तर अहिलेसम्म कतिवटा मन्त्रालय र कुन कुन मन्त्रालयमा को को मन्त्री बन्ने छन् भन्ने औपचारिक जानकारी भईसकेको छैन ।
यद्धपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नयाँ मन्त्रीको पदवहालीका लागि तयारीमा जुटेको छ ।
‘राष्ट्रपति कार्यालयले आज नयाँ स्वास्थ्य मन्त्री पनि आउने र पदवहालीका लागि तयारी गर्नु भन्दै निर्देशन दिएपछि स्वास्थ्यका अधिकारीहरु तयारीमा जुटेका हुन् । । यद्धपी अहिलेसम्म स्वास्थ्य मन्त्री को बन्छ थाहा हुन सकेको छैन ।
‘हामीलाई आजै नयाँ स्वास्थ्य मन्त्री ज्यू आउँदै हुनुहुन्छ भन्ने थाहा छ । पदवहालीका लागि आवश्यक गृहकार्यमा हामी जुटेका छौँ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।
रास्वपा अध्यक्ष रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह, उपाध्यक्षद्धय डिपी अर्याल र डा स्वर्णिम वाग्ले लगायतको टोली अहिले विहान मन्त्रीहरुको नाम टुंगो लगाउन बैंठक बसिरहेका छन् ।
स्रोतका अनुसार रास्वपाले सबै सांसदहरुलाई अहिले विहान ११ बजे राष्ट्रपति कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको छ । सम्भवत त्यतिवेला वा त्यसभन्दा केही समय अघि मात्रै मन्त्रीका लागि सिफारिस भएकाहरुको नाम सार्वजनिक हुनेछ ।
रास्वपाले विज्ञहरुलाई मन्त्री बनाउने यसअघि नै भन्दै आएको हो । र हरेक मन्त्रीसंग कम्तिमा ४ जना विज्ञ सांसद रहने गरी बलियो सचिवालय निर्माण गर्ने योजनामा पनि रास्वपा लागेको बुझिएको छ ।
पछिल्लो पटक मन्त्रालयहरु गाभेर संख्या घटाउने योजनामा पनि रास्वपा लागेको छ । तर मन्त्रालय गाभ्ने निर्णय सम्भवत आज बस्ने पहिलो मन्त्रिपरिषद्को बैठकबाट हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय गाभिने चर्चा छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 