उच्च अदालत पाटनद्धारा रिटको पक्षमा फैसला, नेपाल चिकित्सक संघको निर्वाचन गर्ने बाटो खुल्यो

चैत भित्रै निर्वाचन सम्पन्न गर्ने तयारी
292
Shares

काठमाडौँ, ११ चैत । नेपाल चिकित्सक संघलाई रोकिएको निर्वाचन कार्यक्रम अघि बढाउन बाटो खुलेको छ ।

आफ्नो उम्मेद्वारी कायम गरि पाउँ भन्दै चिकित्सकहरु डा अजयकुमार मिश्र तथा डा विनोदकुमार महासेठ लगायतले उच्च अदालतमा गत ९ पुसमा दायर गरेको रिटको पक्षमा आज अदालतले फैसला सुनाएपछि निर्वाचन कार्यक्रम अघि बढाउन बाटो खुलेको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय डालकुमार खड्का र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले रिट जारी हुने फैसला गरेका हो । डा मिश्रका कानूनी सहयोगी अधिवक्ता गोकुल भण्डारीले उम्मेद्वार कायम गरि पाउँ भन्ने रिटको पक्षमा फैसला आएको बताए । ‘हाम्रो माग अनुसार डा मिश्र, डा महासेठ लगायतको उम्मेदवारी कायम भयो । अब यतिले नै निर्वाचन रोकिएको हो भने त अगाडी बढ्न बाटो खुल्यो ।’

त्यसो त अदालतमा रिट दायर हुन थालेपछि नेपाल चिकित्सक संघको निर्वाचन समितिले आफ्नो पुरानो निर्णय उल्ट्याउँदै उम्मेदवारी दिएका सबैको कायम गर्ने निर्णय गरेको थियो ।

चैत भित्रै निर्वाचन !
पछिल्लो समय अदालतमा रहेको मुद्धाका कारण निर्वाचन रोकिएको अधिकारीहरुले बताएका थिए । तर अब भने निर्वाचन गर्ने बाटो खुलेको छ ।

केही दिन अघि चिकित्सकहरुको सर्वपक्षीय भेलाले आज रिटमा फैसला आएमा उपत्यका बाहिर २१ र २२ चैत तथा काठमाडौँ उपत्यकामा २८, २९ र ३० चैतका दिन निर्वाचन गर्ने भन्दै सहमति गरेका थिए ।

आज अदालतबाट फैसला आएपछि एक दुई दिन भित्र नै यहि मितिमा निर्वाचन गर्ने गरी सूचना जारी हुन सक्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *