‘कुनै तुच्छ व्यक्तिको हितका लागि हामी आफ्नै साथीविरुद्ध पनि लाग्दा रहेछौँ’
अख्तियारको मुद्धाबाट निलम्बनमा परेका कर्मचारीमाथि सहानुभूति

काठमाडौँ, ८ माघ । आइतबार दिउसो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सभा कक्षमा मन्त्रालय र मातहतका कर्मचारीलाई धन्यवाद ज्ञापन गर्न भन्दै आएकी स्वास्थ्य मन्त्री डा. सुधा गौतमले सम्वोधनको अन्तिम तिर ‘मन्त्रालय भित्रका कमजोरीहरु सुनाउन चाहन्छु’ भन्दै गम्भीर भावमा केही शब्दहरु ओकलिन ।
पाँच पेजको लिखित मन्तव्य मन्त्रमुग्ध भएर सुनेका स्वास्थ्यका अधिकारीहरुले कमजोरी भन्दै मन्त्रीले शब्दबाँड प्रयोग गर्न थालेपछि भने असहज महसुस गरेका थिए ।
मन्त्री डा. गौतमले खास गरी कर्मचारीहरुको व्यवहारको विषयमा तितो पोखेकी थिईन । उनले सहकर्मी साथीनै तुच्छ ढंगले एक अर्का विरुद्ध प्रयोग भएको दावी गरेकी थिईन ।
के भनिन् मन्त्री डा. गौतमले हेरौँ जस्ताको तस्तै:
‘केही महिनामै हामीले ३० भन्दा बढी स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुको भ्रमण गर्न सफल भयौँ । राम्रा प्रगति हेरयौँ । केही कमी कमजोरी हेरयौँ । मन्त्रालय र विभागमा पनि राम्रा काम भएका छन् । तर केही कमीकमजोरी छन्,’ कसैको नाम नलिई उनले अगाडी थपिन्, ‘कुनै तुच्छ व्यक्तिको हितमा हामी आफ्नै साथीहरुका बिरुद्ध पनि लाग्दा रहेछौँ । अवाञ्चित रुपमा मिडियामा नकारात्मक कुरा गरेर चरित्र हत्या गरेर । यी सबैले त्यस्तो गर्ने व्यक्तिलाई क्षणिक लाभ त देला तर अन्ततोगत्वा मन्त्रालयको प्रतिष्ठा, साथीहरुप्रतिको विश्वास र काम गर्ने बातावरणलाई प्रदुशित बनाउँछ । यस तर्फ हामी सबै सचेत हुनु जरुरी छ । शिकारी आफै पनि शिकार हुन सक्छ यो नबिर्सौ ।’
अख्तियारको मुद्धाबाट निलम्बनमा परेका कर्मचारीमाथि सहानुभूति
मन्त्री डा. गौतमलले पाँच महिना अघि स्वास्थ्य मन्त्रालय सम्हाल्न आउँदा तय गरेका छ प्राथिमिकता मध्ये एउटा खरीद प्रक्रिया सुधारको पनि रहेको उल्लेख गरिन । उनले त्यसका लागि सुरेश प्रधान र डा भीमसिंह तिंकरीको नेतृत्वमा सुझाव समिति बनाएको र उसले राम्रो प्रतिवेदन बुझाएको समेत बताईन ।
सोही सन्दर्भमा उनले खरीद प्रक्रियामा घोटाला परी अख्तियारको मुद्धा खेपेका कर्मचारीको समेत प्रसंग उठाइन । प्रसंग मात्रै होइन उनले निलम्बित सबै १४ जना कर्मचारीप्रति सहानुभूति देखाएकी थिईन ।
लिखित मन्तव्यमा उनले लिनम्बनमा परेका १४ जना मध्ये धेरैले काम नजानेर बिगारेको ठोकुवा गरेकी छन् । त्यहाँ उनले भनेकी छन्, ‘तपाईँहरुलाई थाहा नै छ, हाम्रा १४ जना साथीहरु निलम्बित छन् । धेरैले काम नजानेर बिगारेका छन् ।’
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 