स्वास्थ्य बीमाको सन्दर्भमा अर्थ मन्त्री खनाललाई स्वास्थ्य मन्त्री डा. गौतमको जवाफ

‘अस्पतालका समस्याबाट बिमुख भई कुलिङ पिरियड मनाउन व्यस्थ अर्थ मन्त्रालयको व्यवहार बुझिनसक्नु छ’

464
Shares

काठमाडौँ, ८ चैत । अर्थ मन्त्री रामेश्वर खनालले तीन दिन अघि सार्वजनिक गरेको विदाई प्रतिवेदनमा स्वास्थ्य बीमा व्यवस्थापनको सन्दर्भमा स्वास्थ्यका अधिकारीको शब्द भन्दै तितो टिप्पणी गरेका थिए । उनले प्रतिवेदनमा भनेका थिए ‘त्यहाँ त कल्पना गर्न सकिने सबै खाले विकृति छ रे ।’

स्वास्थ्य बीमा व्यवस्थापनबारे अर्थ मन्त्री खनाल : ‘त्यहाँ त कल्पना गर्न सकिने सबै विकृति छ रे’

तीन दिन पछि स्वास्थ्य मन्त्री डा. सुधा गौतमले मन्त्रालयका कर्मचारीहरुका लागि आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा अर्थ मन्त्री खनाललाई उस्तै तिखो जवाफ फर्काएकी छन् ।

उनले भनेकी छन्, ‘यसअघि गरेको बचनवद्धता पुरा नगरी अस्पताल उपचार सेवालाई अफ्टेरो पार्ने काम भयो । बचनवद्धता पुरा नगरी कुलिङ पिरियड बनाउन व्यस्त अर्थ मन्त्रालयको व्यवहार बुझिनसक्नुको छ ।’

के भनिन् मन्त्री गौतमले ?

कर्मचारीहरुलाई सम्वोधन गर्ने क्रममा मन्त्री गौतमले भनेकी छन्, ‘स्वास्थ्य बीमाको चुनौती अझै सकिएको छैन । स्वास्थ्य मन्त्रालयकै धेरै महाशाखाका कार्यक्रम कटौति गरेर भए पनि ७५ करोड रकम स्वास्थ्य बीमालाई उपलव्ध गरायौँ । यो कठिन समयमा सहयोग गर्नु हुने सबै महाशाखाका साथीहरुलाई म धन्यवाद दिन चाहन्छु ।

कात्तिक महिनासम्मको हिसाव निकालिसकेर अर्थ मन्त्रालयसंग सात अर्ब मागेकोमा जम्मा एक अर्ब मात्रै पायौँ, निर्बाचन पछि बाँकी रकम दिन्छु भन्ने बचन दिएर पनि हाम्रा अस्पतालका समस्याबाट बिमुख भएर अर्थ मन्त्रालय कुलिङ पिरियड मनाउन व्यस्त छ । हरेक प्रकारको इमरजेन्सीमा ट्रायज र प्राथमिकिकरण गरेर काम गर्ने हामी स्वास्थ्यकर्मीलाई यस्तो किसिमको व्यवहार र उपचार बुझिनसक्नु भएको छ । दुख मनाउ गर्ने बाहेक केही गर्न नसक्ने अवस्थामा हामीलाई पुरयाएको छ ।’

त्यसअघि मन्त्री गौतमले स्वास्थ्य बीमाका सन्दर्भमा झण्डै एक दशक देखि थुप्रिएका बिकृतिका चाङहरु मसिनोसंग केलाई सुधारका कार्य अघि बढाएको दावी गर्दै यसबाट आगमी दिनमा बहुमुल्य केही अर्वहरु बचत हुने र स्वास्थ्य बीमा कार्यक्रमले भोगेको समस्या केही हदसम्म कम हुने ठोकुवा गरेकी छन् ।

विदा हुँदै गर्दा जेनजी सरकारका विभागीय मन्त्रीहरुले एक अर्काका मन्त्रालय तथा त्यस अन्तर्गतका निकायले गर्ने कामका सन्दर्भमा गरेका यता आरोप प्रत्यारोपले ‘दोषारोपण गरी पन्छिने’ पुरानो चलन अझै गएको छैन भन्ने चाहि प्रष्ट भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *