त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक ‘रिभर्स शोल्डर आर्थ्रोप्लास्टी’ सफल

काँध सम्वन्धि जटिल समस्या भएका बिरामीलाई नयाँ उपचार विकल्प
100
Shares

काठमाडौँ, ७ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा पहिलो पटक काँधको जोर्नी प्रत्यारोपण भएको छ । अर्पोपेडिक सर्जन डा सुनिलसिंह थापाको नेतृत्वको टीमले अस्पतालमा सोमबार र बिहीबार दुई जना बिरामीमा रिभर्स शोल्डर आर्थ्रोप्लास्टी (उल्टो काँध जोर्नी प्रत्यारोपण) गरेको हो ।

अस्पतालका अनुसार ६३ वर्षीया महिला र ७० वर्षीय पुरुषमा गरिएको उक्त शल्यक्रिया सफल भएको छ। नेपालमा पछिल्लो एक–डेढ वर्षदेखि केही अस्पतालमा सीमित रूपमा यस्तो सर्जरी हुँदै आएको भए पनि यो प्रविधि त्रिवि शिक्षण अस्पतालमा भने पहिलोपटक प्रयोग गरिएको हो। डा थापाले गतवर्ष अमेरिकामा गई यस सम्वन्धी तीन महिने फेलोसिप सम्पन्न गरेपछि त्रिवि शिक्षण अस्पतालमा सेवा सुरु गरेका हुन् ।

‘अमेरिका, युरोप तिरका विकसित देश मात्रै होइन छिमेकी देश भारतमा पनि यो सर्जरी सामान्य भई सक्यो तर नेपालमा भने अहिले नयाँ जस्तै हो । केही अस्पतालहरुले पछिल्लो एक ढेड वर्ष यता फाटफुट रुपमा सुरु गरे देशकै ठूलो सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म भएको थिएन । अब भने यसले गति लिनेछ,’ डा. थापाले भने ।

सामान्य दुखाइदेखि हात नचल्ने अवस्थासम्म:

डा. थापाका अनुसार यस्तो समस्या आउनुमा कहिलेकाहीँ सामान्य देखिने काँधको दुखाइ समयसँगै गम्भीर बन्दै जान्छ। सुरुमा सानो पीडा जस्तो देखिए पनि विस्तारै लुगा लगाउन, कपाल कोर्न, हात मुखमा लैजान वा हात उठाउन नै नसक्ने अवस्था आउन सक्छ।

व्यक्तिहरुले यो सामान्य समस्या हो भन्दै वेवास्ता गर्दा जटिल अवस्थामा पुग्ने गरेका छन् । डा. थापा भन्छन्, ‘यस्तो अवस्था केवल दुखाइ मात्र नभई बिरामीको दैनिक जीवन र आत्मनिर्भरतालाई नै प्रभावित गर्ने अवस्थामा पुरयाउन सक्छ ।’

डा थापाले यो सर्जरी ६० वर्ष माथिका व्यक्तिहरुमा बढी प्रभावकारी हुने भन्दै जेष्ठ नागरिकहरुमा मात्रै गरिने बताए ।

के हो यो सर्जरी ? कसरी गरिन्छ ‘रिभर्स शोल्डर आर्थ्रोप्लास्टी’

डा. थापा भन्छन्, ‘काँधको जोर्नी प्रत्यारोपण दुई प्रकारका हुन्छन्—‘टोटल शोल्डर रिप्लेसमेन्ट’ र ‘रिभर्स शोल्डर रिप्लेसमेन्ट’। रिभर्स प्रविधिमा भने जोर्नीको संरचना नै उल्ट्याइन्छ। उनका अनुसार सामान्य अवस्थामा गेडी कपमा घुम्ने भए पनि रिभर्समा कपलाई गेडी र गेडीलाई कप बनाइन्छ।

सामान्य रूपमा काँधको जोर्नी ‘बल एन्ड सकेट’ प्रणालीमा आधारित हुन्छ। माथिल्लो हातको हड्डी ह्युमेरसमा गेडी ९बल० हुन्छ भने स्कापुलाको ग्लेनोइड भागमा कप (सकेट) हुन्छ। यही गेडी कपभित्र घुमेर हात चल्ने गर्छ।

यस प्रक्रियामा ग्लेनोइड भागमा धातुको गेडी (ग्लेनोस्फियर) राखिन्छ भने ह्युमेरसमा प्लास्टिकको कप जडान गरिन्छ। यसरी संरचना उल्ट्याउँदा बिग्रिएको रोटेटर कफ मांसपेशीको सट्टा डेल्टोइड मांसपेशीले काँध चलाउने मुख्य काम गर्छ।

किन आवश्यक पर्छ यस्तो सर्जरी ?

चिकित्सकका अनुसार रोटेटर कफ मांसपेशी च्यातिनु, जोर्नी खिइनु (आर्थराइटिस), पुरानो चोटपटक वा लामो समयसम्म उपचार नगर्दा काँध चल्नै नसक्ने अवस्था आउन सक्छ। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘प्सुडोप्यारालाइसिस’ भनिन्छ। यस्तो जटिल अवस्थामा ‘रिभर्स शोल्डर आर्थ्रोप्लास्टी’ प्रभावकारी उपचारका रूपमा प्रयोग गरिन्छ।

सर्जरी प्रक्रिया र समय:

डा. थापाका अनुसार यो शल्यक्रिया विशेषज्ञ अर्थोपेडिक सर्जनद्वारा गरिन्छ। यसमा बिग्रिएको जोर्नी हटाएर आधुनिक कृत्रिम इम्प्लान्ट राखिन्छ र जोर्नीको स्थिरता तथा मिलान मिलाइन्छ। डा थापाले शल्यक्रियामा सामान्यतया ढेड देखि दुई घण्टा समय लाग्ने बताउँछन् । यद्धपी केश हेरि हेरी समय थप घट हुने उनीहरुले बताए ।

‘हामीले पहिलो केस ढेड दुई घण्टामा सकेका थियौँ तर दोस्रो केशमा अलि समय लाग्यो । यो केश हेरि हेरि हुन्छ,’ उनले भने ।

सर्जरीपछि सुधार र सावधानी :

सर्जरीपछि बिरामीले क्रमिक रूपमा सुधार महसुस गर्छन्। सुरुमा केही समय हात स्लिङमा राख्नुपर्छ। त्यसपछि बिस्तारै फिजियोथेरापी सुरु गरिन्छ र करिब तीन महिनापछि सामान्य दैनिक काम गर्न सकिने हुन्छ।

‘तर अत्यधिक भारी काम गर्न भने मिल्दैन,’ डा. थापाले भने ।

चिकित्सकका अनुसार यो प्रविधि विश्वव्यापी रूपमा सुरक्षित र प्रभावकारी मानिन्छ। यद्यपि संक्रमण, जोर्नी खुस्किने वा इम्प्लान्ट ढिला हुने जस्ता केही दुर्लभ जोखिम हुन सक्ने भएकाले नियमित अनुगमन आवश्यक हुन्छ।

काँध मात्र होइन, जीवन नै सहज बनाउने उपचार :

डा. थापाका अनुसार यो सर्जरीले केवल काँधको समस्या मात्र समाधान नगरी बिरामीको आत्मनिर्भरता र जीवनस्तर सुधार गर्न मद्दत गर्छ। यस प्रविधिले जटिल काँध समस्या भएका बिरामीलाई पुनः सक्रिय जीवनमा फर्किन सहयोग गर्ने विश्वास लिइएको छ।
यस उपलब्धिले नेपालमै जटिल काँधका बिरामीको उपचार थप सहज र सुलभ हुने अपेक्षा गरिएको छ। डा.थापाले त्रिवि शिक्षण अस्पतालमा यो सर्जरी नियमित रुपमा गर्ने योजनामा छन् ।

‘यो सर्जरी हामीले सुरु गरेका छौँ । त्रिवि शिक्षण अस्पतालमा सर्जरी शुल्क अन्य सरह नै हो तर यसका लागि लागि आवश्यक पर्ने इम्प्लान्टहरु भने महंगो छन् । करीव प्रत्यारोपणका लागि चाहिने इम्प्लान्टका सामग्रीहरुलाई अहिले नेपाली बजारमा कम्तिमा अढाई तीन लाख रुपैयाँ पर्छ । त्यसैले केही महंगो हो । तर सर्जरी पछिको जीवन भने निकै सहज हुन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *