सुर्तीजन्य पदार्थको लत नियन्त्रणका लागि काठमाडौँका शिक्षण अस्पतालहरू सक्रिय

विहीबार अभिमुखीकरण कार्यक्रम सम्पन्न
24
Shares


काठमाडौँ, ६ चैत । काठमाडौँ उपत्यकामा रहेका शिक्षण अस्पतालहरुमा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्दै त्यस्ता व्यक्तिको उपचार सेवालाई कसरी सुदृढ बनाउने भन्ने विषयमा एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को चिकित्सा शिक्षा विभागले यस बिहीबार कार्यक्रमको आयोजना गरेको हो ।

सुर्तीजन्य पदार्थको प्रयोगमा क्रियाशिल व्यक्तिहरुलाई त्यसको लतबाट हटाउनका लागि गरिने विधिहरुको सम्भाव्यता विषयमा विद्यावारिधि अनुसन्धान परियोजना अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त अनुसन्धानलाई एनआईएचआर ग्लोबल हेल्थ रिसर्च सेन्टर फर मल्टिपल लङटर्म कन्डिसनले आर्थिक सहयोग गरेको छ । यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता डा प्रणिलमान सिंह प्रधान हुन् ।

बिहीबारको उक्त कार्यक्रममा आईओएमका अलावा काठमाडौँ मेडिकल कलेजका मनोचिकित्सा विषयका स्नातकोत्तर तहका आवासीय चिकित्सकहरू तथा प्राध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका डा केदार मरहट्टाले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगको बर्तमान अवस्था, यसबाट उत्पादन हुनसक्ने स्वास्थ्य भार तथा उपचार सेवा कार्यान्वयनमा चुनौती र अवसर बारेमा बताएका थिए ।

यस्तै अर्का विज्ञ डा सगुनबल्लभ पन्तले विभिन्न प्रकारका सुर्तीजन्य पदार्थ, तिनको पहिचान, परीक्षण, मूल्यांकन तथा व्यवस्थापनका उपायहरुको बारेमा विस्तृत जानकारी दिएका थिए ।

त्यसैगरी डा. श्रीराम उपाध्यायले सुर्तीजन्य पदार्थ प्रयोग गर्न अनिच्छुक व्यक्तिहरूसँग प्रभावकारी रूपमा संवाद गर्ने ‘प्रेरणादायी अन्तर्वार्ता’ विधिबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागीहरूलाई व्यावहारिक अनुभव दिलाउन प्रदर्शन तथा भूमिकानिर्वाहमार्फत सुर्तीजन्य पदार्थ प्रयोगसम्बन्धी समग्र मूल्यांकन र उपचार प्रक्रियाको अभ्यास पनि गराइएको थियो।

कार्यक्रमको समापन सत्रमा डा. प्रधानले नेपालमा सुर्तीजन्य पदार्थ त्यागसम्बन्धी सेवाहरूको अभाव रहेको उल्लेख गर्दै आफ्नो अनुसन्धान परियोजनामार्फत त्रिवि आईओएम तथा काठमाडौँ मेडिकल कलेजमा यस्ता सेवाहरु कार्यान्वयन गर्न सकिने बताएका थिए । यस्तै उनले ती संस्थानहरुमा यस कार्यक्रमका सम्भाव्यता परीक्षण गरिने समेत जानकारी दिए।

कार्यक्रम पछि सहभागीहरुले नेपालमा सुर्तीजन्य पदार्थ त्यागसम्बन्धी सेवाहरूलाई संस्थागत रूपमा विस्तार गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *