हुम्लामा चैत १५ गतेभित्र एचपिभी खोप अभियान सञ्चालन हुने

हुम्ला, ३ चैत । हिमाली जिल्ला हुम्लामा दशदेखि चौध वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोप चैत १५ गतेभित्र लगाइने भएको छ।
देशभर सञ्चालन भएको राष्ट्रिय खोप अभियानका क्रममा छुटेका किशोरीलाई समेट्दै पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
चैत १५ गतेभित्र जिल्लाका सातवटै गाउँपालिकामा खोप लगाउने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार कक्षा ६ मा अध्ययनरत तथा सोही उमेर समूहका ६८६ जना किशोरीलाई खोप लगाइनेछ। विद्यालय बाहिर रहेका किशोरीलाई समेत कार्यक्रममा समेटिने व्यवस्था गरिएको छ।
गाउँपालिकाअनुसार खोप लगाइने किशोरीको सङ्ख्या खार्पुनाथमा ९५, चङ्खेलीमा ७२, सर्केगार्डमा १२७, नाम्खामा २७, ताँजाकोटमा ९५, सिमकोटमा १६५ र अदानचुलीमा १०५ रहेको छ। नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमी क्षेत्रमा भने सो उमेर समूहका किशोरी नरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ।।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ