स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार नि:शुल्क गर्दै काठमाडौँ महानगरपालिका

वीर अस्पतालसंग भयो सम्झौँता
68
Shares

काठमाडौँ, ३ चैत । स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ ।

सोमबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र वीर अस्पतालका निर्देशक प्राडा दिलिप शर्माबीच निशुल्क सेवा सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौँता अनुसार वीर अस्पतालले आगामी १६ चैत देखि परीक्षण कार्य थाल्ने छ । हरेक दिन १०० जनादेखि १२० जनासम्मको परीक्षण गर्ने गरी योजना बनाइएको छ ।

महानगरले सुरुवाती समयमै क्यान्सरको अवस्था वा सम्भावना थाहा पाउनका लागि वीरसंग सहकार्य गरेको जनाएको छ । सुरुवाती समयमै पत्ता लागेमा उपचार तथा निकोहुने दर सहज हुने भएकोले महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको बताएको छ ।

त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेशा व्यवसायमा काम गर्ने महिलाहरुलाई पनि परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिईन ।

उनले भनिन्, ‘सेवा सरल, सहज र पहुँच योग्य बनाउनु होला । अपाङ्गता भएका महिलाहरुका लागि विशेष व्यवस्था गर्नुहोला । उनले अगाडी थपिन्, ‘क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि हो । यसका विषयमा भएका भ्रम र असजिला पक्षहरुका विषयमा पर्याप्त जानकारी प्रवाह गर्नुहोला । सबै महिलाको पहुँचमा विस्तार गर्न सकिने गरी परीक्षण गराउने प्रबन्ध मिलाउनुहोला ।’

अस्पतालका निर्देशक प्राडा शर्माले गतवर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको बताए । ‘उच्च स्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ’ प्राडा शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन । किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको हो, यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ ।’

अभियान कहिले देखि  ?

स्वास्थ्य विभागका प्रमुख केसी का अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनु भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह भएको बताए ।

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिपमा उल्लेख भएको मिति र समयमा अस्पताल जानुपर्छ ।

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ ।

पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *