फेक रेस्क्यु प्रकरण : श्रीधि ईन्टरनेशनल अस्पतालमा अध्यक्ष तथा मेडिकल डाईरेक्टर डा. तिमिल्सिना पक्राउ

108
Shares

काठमाडौँ, २६ माघ । पर्वतारोहण क्षेत्रमा भएको फेक रेस्क्युमा संम्लग्न भएको आरोपमा श्रीधि ईन्टरनेशनल हस्पिटल लाजिम्पाटका अध्यक्ष तथा मेडिकल डाईरेक्टर डा. गिर्वाणराज तिमिल्सिना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

पर्वतको मोदी गाउँपालिका वडा नं. २ स्थायी घर भएका ४४ वर्षीय तिमिल्सिनालाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा आइतबार पक्राउ गरेको सीआईबीले जनाएको छ ।

अनुसन्धानमा खटिएको सीआईबीले सो अस्पतालले विभिन्न रेस्क्यू कम्पनीहरू ( माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिस )सँगको मिलेमतोमा नक्कली कागजात तयार पारी बिमामा ठगी गर्दै आएको पाइएको छ।
ठगीको प्रकृतिबारे थप प्रष्ट पार्दै प्रहरीले भनेको छ, ‘संलग्न कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको अभिलेखमा रहेको प्यासेन्जर एण्ड कार्गो म्यानफेस्टुको विवरणमा थपघट गरी किर्ते बिलहरू तयार गर्ने गरेका थिए। यति मात्र नभई, उद्धार गरिएको भनिएका पर्यटकहरूलाई अस्पतालमा अनिवार्य भर्ना गरिएको र उपचार गराइएको झूटो प्रतिवेदन समेत खडा गरी बीमा कम्पनीहरूसँग ठूलो रकम दाबी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।’

सीआईबीले यस प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रलाई गम्भीर क्षति पुर्‍याएको दाबी गरिएको छ।

नेपाललाई असुरक्षित गन्तव्यको रूपमा प्रचार गराई पर्यटक आगमनमा समेत नकारात्मक प्रभाव पारेकाले पक्राउ परेका डा। तिमिल्सिना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र अन्य किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ ।

यसअघि पनि यस प्रकरणमा संलग्न अन्य रेस्क्यू कम्पनीका सञ्चालक र कर्मचारीहरूलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याइसकेको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *