भारतमा निपाह भाइरस संक्रमण बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

68
Shares

काठमाडौँ, १८ माघ । भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ ।

मन्त्रालयअन्तर्गतको  इपिडियोलोजी तथा डिजिज कन्ट्रोल डिभिजन (ईडीसीडी) ले निपाहको समयमै पहिचान र नियन्त्रणका लागि नमुना संकलन तथा परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै देशभरका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

निर्देशिकाअनुसार ज्वरोसँगै गम्भीर श्वासप्रश्वास समस्या, चेतनास्तरमा परिवर्तन देखिएका वा निपाह प्रभावित क्षेत्रको यात्रा इतिहास भएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकृत गरिनेछ ।

यस्ता व्यक्तिलाई तुरुन्त आइसोलेसनमा राखी अस्पताल भर्ना गरिने र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार निपाह भाइरस प्रायः फलफूल चमेराबाट मानिसमा सर्ने भएकाले काँचो खजुराको रस सेवन, संक्रमित जनावरसँगको सम्पर्क र भारतको केरलाजस्ता प्रभावित क्षेत्रमा यात्रा गर्नेहरू विशेष जोखिममा रहनेछन् ।

यस्तो जोखिम समूहमा पर्ने व्यक्तिमा गम्भीर लक्षण देखिएमा ‘सम्भावित निपाह केस’ मानेर थप कडा निगरानी गरिने निर्देशिकामा उल्लेख छ ।

नमुना संकलन गर्दा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सीएसएफ संकलन गरिनेछ । संकलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २–८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) पठाइनेछ । त्यहाँ उच्च सुरक्षा प्रयोगशालामा रियल–टाइम पीसीआर परीक्षणमार्फत निपाह भाइरसको पहिचान गरिने व्यवस्था छ ।

स्वास्थ्य मन्त्रालयले यो निर्देशिकाले निपाह भाइरसको समयमै पहिचान, संक्रमण सञ्जाल तोड्न र समुदायमा फैलन नदिन सहयोग पुग्ने विश्वास लिएको छ । साथै, सर्वसाधारणलाई अनावश्यक भय नफैलाउन तर सचेत रहन आग्रह गरिएको छ ।

ज्वरो आउने, सास फेर्न गाह्रो, बेहोस हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।

यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *