‘पेपरलेस सिस्टम’ लागू गर्ने संघीय तहमा स्वास्थ्यको पहिलो निकाय बन्यो ‘एनएचईआईसीसी’

108
Shares

काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पेपरलेस सिस्टम’ लागू गर्न खोजेको केही साता भयो तर पूर्ण रुपमा अझै गर्न सकेको छैन । तर, मन्त्रालय अन्तर्गतकै एक निकाय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र (एनएचईआईसीसी) ले भने यो सिस्टम लागू गरेको अढाई महिना पुगिसकेको छ ।

सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न सूचना प्रविधि विभागले विकास गरेको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) गत १ मंसिर देखि लागू गरेको हो ।

‘सरकारका विभिन्न निकायहरुमा यसको पूर्ण कार्यान्वयन आएको पनि छ तर संघीय तहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस अन्तर्गतका निकायमा यो सिस्टम पूर्ण रुपमा सञ्चालनमा ल्याउने हामी पहिलो हौँ,’ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले भनिन् ।

हुन पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कको रुपमा अघि सारेको यो प्रणाली प्रयोग गरि सरकारी निकायहरुले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य गर्न सक्नेछन् । यस्तै सरकारी निकायले यस प्रणाली मार्फत उल्लेखित कार्य सम्पादन गर्दा विद्युतीय हस्ताक्षर प्रयोग गर्न सक्छन् ।

‘यो प्रणाली लागू भएपछि काममा चुस्तता, पारदर्शीता छिटो छरितो भएको छ । मुख्य कुरा कुनै पनि कर्मचारी कार्यालयमा नभएकै कारण कुनै जरुरी कामहरुबाट बन्चित हुँदैन, अनलाइन सिस्टम भएकोले कुनै बैठकमा गएको बेला, वा घरमा रहेको बेलामा पनि कामका अफ्ट्याराहरु फुकाईदिन सकिन्छ,’ निर्देशक डा. थपलियाले भनिन् ।

केन्द्रमा अहिले जाने हरेक कागजातहरुको दर्ता गर्ने देखि निर्णयका लागि टिप्पणी उठाउने तथा सदर गर्ने सम्मको कामहरु अनलाइन माध्यमबाटै हुने गरेको छ ।

डा. थपलियाले यो सिस्टमसंग कार्यालयमा कर्मचारीको उपलव्धता देखि को छ को छैन भन्ने सम्मको जानकारी रहने बताईन । ‘आजको दिनमा मेरो कर्मचारी कति जना कार्यालयमा, कति जना विदामा, कति जना काजमा, कति जना फिल्डमा हुनुहुन्छ भन्ने कुरा अनलाइनबाट थाहा हुन्छ । यसले कार्यालयको सञ्चालनमा समेत सिस्टमेटिक रुपमा काम गरिरहेको छ,’ डा. थपलियाले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *