नेपाल चिकित्सक संघ निर्वाचन :

२ पुसका दिन मनोनयन फारम र शुल्क बुझाएका सबैको उम्मेद्धारी कायम हुने

निर्वाचनको नयाँ मिति घोषणा गरिदै
52
Shares

काठमाडौँ, ३ माघ । नेपाल चिकित्सक संघ निर्वाचन समितिले गत २ पुसका दिन उम्मेद्धार बन्न मनोनयन फारम भरी पेश गरेका तथा दस्तुर बुझाएका सबैको उम्मेद्धारी कायम राख्ने निर्णय गरेको छ । उसले केही दिनमै उम्मेद्धारको नयाँ नामावली प्रकाशन गर्ने जनाएको छ ।

आज अवेर राती सूचना जारी गर्दै समितिले विभिन्न सरोकारवालाहरुलाई पूर्व सूचना दिई गरिएको अलग अलग छलफल एवं २८ पुस र ३ माघमा गरिएको सर्वपक्षीय छलफलबाट यस्तो निर्णय गरिएको बताएको छ ।

समितिले मनोनयन फारममा प्रक्रिया नपुगेको भन्दै डा अरुण शाही, डा अजय मिश्र सहित धेरै जना चिकित्सकको उम्मेद्वारी रद्ध गरिदिएपछि उनीहरु त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट हाल्न पुगेका थिए । अदालतले खारेजीमा परेकाहरुको उम्मेद्वारी कायम गर्न भन्दै सबै निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । डा अजय मिश्रको समूहले हालेको रिट पछि त अदालतले यथास्थितिमा निर्वाचन अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । यहि आदेशका कारण अहिले निर्वाचन अनिश्चित कालीन रुपमा स्थगित गरिएको छ ।

निर्वाचनको नयाँ मिति घोषणा गरिदै
यसैबीच शनिबारको सर्वपक्षीय बैठकले निर्वाचनका लागि नयाँ मिति तय गर्ने विषयमा छलफल गरी समझदारीमा पुगेको छ । छलफलमा सहभागी एक सदस्यका अनुसार यहि माघको १५ र १६ गते काठमाडौँ उपत्यका बाहिर निर्वाचन गर्ने र २९ माघ, १ र २ फागुन गरी तीन दिन काठमाडौँ उपत्यका भित्र निर्वाचन गर्ने समझदारी बनेको छ ।

निर्वाचन समितिको तर्फबाट जारी विज्ञप्तीमा पनि सर्वपक्षीय छलफल तथा निर्वाचन प्रक्रियालाई यथाशीघ्र अघि बढाउन विभिन्न पक्षद्धारा निर्वाचन समिति समक्ष लिखित रुपमा गरिएको अनुरोधलाई समेत मध्यनजर काम अघि बढेको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *