त्रिवि शिक्षण अस्पतालमा भयो २२ औँ कलेजो प्रत्यारोपण

40
Shares

काठमाडौँ, ३ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको टिमले फेरी एक जना बिरामीमा कलेजोको सफल प्रत्यारोपण गरेको छ । दुई साता अघि भक्तपुरका ५४ वर्षीय एक जना पुरुषमा उनकै २२ बर्षका छोराबाट झिकिएको कलेजो प्रत्यारोपण गरिएको हो ।

कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले प्रत्यारोपित व्यक्तिको आज डिस्चार्ज हुन लागेको बताए ।

‘कलेजो दान गर्ने छोराको केही अघि नै डिस्चार्ज भएको हो । अंग ग्रहण गर्ने बाबुको चाहि आज डिस्चार्ज हुँदैछ । कलेजो प्रत्यारोपणका लागि टिचिङले अहिले विदेशी चिकित्सकसंग सहयोग लिनु पर्दैन । नौ वटा प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिएपछि दशौँ प्रत्यारोपण हामी आफैले गरेका हौँ । सन् २०२४ जनवरी १२ देखि हामी टिचिङकै मात्र चिकित्सकीय टोलीले प्रत्यारोपण गर्न सफल भएका छौँ । अहिलेसम्म त्यसरी हाम्रो टोलीले १३ वटा सफल प्रत्यारोपण गरिसकेको छ,’ टोली प्रमुख प्राडा भण्डारीले भने ।

त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म २२ वटा कलेजो प्रत्यारोपण भएको छ ।

‘बीचमा पनि कलेजो प्रत्यारोपण भई नै रहेको छ । हामीले धेरै हल्ला गरेनौँ तर अब हल्ला नगर्दा बिरामीहरुमा प्रत्यारोपण नै बन्द भएछ कि भन्ने पनि होला भनेर आज पुन जानकारी गराएका हौँ,’ प्राडा भण्डारीले भने ।

नेपालमा कलेजो प्रत्यारोपणको सेवा सुरु भएको दश वर्ष पुगिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *