‘ईमिनोसप्रेसेन्ट’ औषधीहरु ‘सेयर्ड फेसिलिटी’मा उत्पादन गर्न नपाईने

164
Shares

काठमाडौँ, २ माघ । औषधी व्यवस्था विभागले ईमिनोसप्रेसेन्ट (रोग प्रतिरोधात्मक क्षमता घटाउन प्रयोग हुने) ‘माइकोफेनोलेट एसिड’ जस्ता औषधीको उत्पादन सेयर्ड फेसिलिटी (एउटै कारखानामा अरु औषधीसंग)मा  गर्न नमिल्ने निर्णय गरेको छ ।

औषधी उत्पादक तथा आयातकर्ताले सेयर्ड फेसिलिटीमा औषधी उत्पादन तथा आयात गर्न अनुज्ञा पत्र मागेपछि विभागले त्यसरी उत्पादन गर्न दिन नमिल्ने निर्णय गरेको हो ।

त्यसअघि विभागकै जीएमपी कमिटिले सेयर्ड फेसिलिटीमा ईमिनोेसप्रेसेन्ट औषधी उत्पादन गर्दा अन्य औषधीमा मिसिने तथा कामदारको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अनुज्ञा पत्र नदिन सिफारिस गरेको थियो । सोही कमिटिको सिफारिस अनुसार विभागले पछिल्लो निर्णय लिएको हो ।

विभागका जीएमपी कमिटि संयोजक किरण बज्राचार्यले राय माग भएपछि औषधीको विषयमा बिस्तृत अध्ययन् गरेको र त्यसपछि निर्णय लिईएको बताए । उनले भने, ‘विश्व स्वास्थ्य संगठनको औषधी उत्पादन मापदण्ड (डब्लुएचओ जीएमपी) अनुसार रोग प्रतिरोधात्मक क्षमता घटाउने, अत्यधिक सक्रिय तथा संवेदनशील औषधीहरू अन्य औषधीसँग एउटै स्थानमा उत्पादन गर्न उपयुक्त मानिँदैन ।’

त्यसो त ‘माइकोफेनोलेट एसिड’ गर्भावस्थामा प्रयोग गर्दा गर्भमा रहेको बच्चालाई गम्भीर क्षति पुग्न सक्ने, क्यान्सरको जोखिम बढ्ने तथा गम्भीर संक्रमण हुन सक्ने औषधीका रूपमा समेत सूचीकृत छ।

यस्तै अमेरिकी स्वास्थ्य निकाय सीडीसीले समेत यस औषधीलाई जोखिमयुक्त औषधीको सूचीमा राखेका छन्। यसको अत्यन्त न्यून मात्रा पनि मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले उत्पादन क्रममा विशेष सावधानी आवश्यक हुने निष्कर्ष निकालिएको छ।

विभागले पनि यस्ता औषधी उत्पादनका लागि छुट्टै उत्पादन स्थल वा छुट्टै उपकरण अनिवार्य हुनु पर्ने स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *