पूर्व स्वास्थ्य मन्त्रीहरुको नेतृत्वमा नेपाली कांग्रेस

काठमाडौँ, १ माघ । बुधबार सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ ।
उनी २०७३ सालमा करीब नौ महिना स्वास्थ्य मन्त्री बनेका थिए ।
पार्टी सञ्चालनमा अर्को महत्वपूर्ण मानिने कार्यकारी पद महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन् । नव निर्वाचित महामन्त्री पौडेल पनि निवर्तमान स्वास्थ्य मन्त्री हुन् ।
विशेष महाधिवेशनबाट पार्टीका सभापति शेरबहादुर देउवा, कार्यवहाक सभापति पूर्णबहादुर खड्का सहित माथिल्ला तहका थुप्रै नेताहरु एकैपटक विस्तापित हुने गरी भएको बिद्रोहको नेतृत्व तत्कालीन महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले गरेका थिए । अहिले शर्मा पार्टीको उपसभापति पदमा चुनिएका छन् । उनीसंगै उप सभापति पदमा नेतृ पुष्पा भुसाल पनि निर्वाचित भएकी छन् ।
त्यसो त विशेष महाधिवेशनले नेतृत्व चुन्नु अघि कांग्रेस संस्थापन भनिएको देउवा समूहले महामन्त्रीद्धय थापा र शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको थियो । तर बहुमत प्रतिनिधिबाट अनुमोदित विशेष महाधिवेशनबाट नयाँ नेतृत्व छानिने भन्दै थापा शर्माले उक्त कार्वाहीको वेवास्ता गरेका थिए ।
बुधबार मध्यरातमा घोषणा भएको पार्टी पदाधिकारीहरुमा सहमहामन्त्रीमा डिला संग्रौला (महिला), प्रकाश रसाइली (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर जबरा (खस आर्य), मुक्ताकुमारी यादव (मधेशी), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन् ।
विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।
ती मध्ये पूर्व स्वास्थ्य मन्त्री अर्जुन नरसिंह केसी, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी पनि अटाएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
