पेशा सम्वन्धी खराब आचरण देखाएको भन्दै मेडिकल काउन्सिलद्धारा डा. रिजाललाई दुई महिना निलम्बन गर्ने निर्णय

काठमाडौँ २७ पुस । नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजाललाई दुई महिना निलम्बन गर्ने निर्णय गरेको छ । गत बिहीबार बसेको काउन्सिलको पूर्ण बैठकले पेशा सम्वन्धी खराब आचारण देखाएको भन्दै डा. रिजाललाई दुई निलम्बन गर्ने निर्णय गरेको हो ।
डा. रिजालले उपचार सम्वन्धी गलत कागजात पेश गरेर दोषी उम्काउन भूमिका खेलेको भन्दै जिल्ला अदालत काठमाडौँले उनलाई दोषी ठहर गरिसकेको छ । तर उनले अहिले जिल्ला अदालतको निर्णयको पुनरावलोकन गर्न उच्च अदालत पाटनमा मुद्धा हालेकी छन् ।
डा. रिजालको यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग जोडिएको छ । विसं २०७३ फागुनमा पीडित महिला र दिवाकर रिजालबीच अंश मुद्दाको क्रममा चिनजान भएको थियो । त्यही सम्बन्धको लाभ लिँदै दिवाकरले ४ जेठ २०७९ मा जबर्जस्ती करणी पीडितको आरोप छ ।
त्यसपछि ती पीडित महिलाले मुद्दा दायर गरेकी थिइन् । तर करणी गरेको भनिएको समयमा दिवाकरले आफू नुवाकोटको खरानीटार अस्पतालमा उपचाररत रहेको भन्दै अदालतमा कागजात पेस गरेका थिए ।
जाँचबुझका क्रममा चिकित्सकीय विवरण डा. यसोदा रिजालले बनाएको पाइएको थियो । उक्त विवरण अनुसार उच्च रक्तचापका कारण दिवाकार एक रात खरानीटार अस्पतालमा भर्ना भएका थिए ।
डा. रिजाल खरानीटार अस्पतालको प्रमुख जिम्मेवारीमा थिइन् । भर्ना भएका दिवाकर डा. यशोदाका बुबा थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले २०८२ असार २३ मा फैसला गर्दै डा. यसोदा रिजाललाई एक महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तथा दिवाकरलाई सात वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको छ ।
फैसलामा डा. रिजालले अदालतलाई प्रभाव पार्ने उद्देश्यले झुटा चिकित्सकीय प्रमाण तयार गरेको ठहर गरेर एक महिना जेल र ५ हजार जरिवाना तोकेको थियो ।
त्यसपछि ६ साउन २०८२ मा महिलाले अदालतको फैसला पेस गर्दै डा. रिजालको लाइसेन्स खारेज गर्न ती पिडित काउन्सिलमा पुगेकी थिइन् । तर डा रिजाल भने अदालतमा मुद्दा चलिरहेको अवस्थामा मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएर अमेरिका लागिसकेकी छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
