डब्लुएचओको नागरिक समाज आयोगको स्टियरिङ कमिटीमा जुनू श्रेष्ठ चयन

काठमाडौँ, २४ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नागरिक समाज आयोगको स्टियरिङ कमिटीमा जुनू श्रेष्ठ चयन भएकी छन् ।
स्वास्थ्य बीमा बोर्डको सदस्य समेत रहेकी श्रेष्ठले विश्व भरका ५०० बढी नागरिक समाज सम्वद्ध संस्थाहरु आवद्ध रहेको आयोगको सदस्यमा चयन भएकी हुन् ।
यस आयोगले विश्व स्वास्थ्य नीति निर्माण, कार्यक्रम कार्यान्वयन र उत्तरदायित्वमा नागरिक समाजको सशक्त सहभागिता गर्ने उदेश्य लिएको छ ।
यस्तै आयोगको स्टियरिङ कमिटीले आयोगको समग्र दिशा र रणनीतिमा नेतृत्व प्रदान गर्ने, कार्ययोजना तय गर्ने, कार्यसमूहहरूको स्थापना तथा स्वीकृतिमा मार्गदर्शन गर्ने, साथै डब्लुएचओ र नागरिक समाजबीचको सहकार्यलाई विश्व, क्षेत्रीय र राष्ट्रिय तहमा सुदृढ बनाउने भूमिका निर्वाह गर्ने बताइएको छ ।
हालसम्म यस आयोगले विश्व स्वास्थ्य सभामा नागरिक समाजको प्रभावकारी सहभागिता सुनिश्चित गर्न, जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी संवादहरूमा योगदान पुर्याउन, युवा सहभागिता प्रवर्द्धन गर्न तथा दिगो स्वास्थ्य वित्तीयकरणका विषयहरूमा महत्वपूर्ण पहलहरू गरिसकेको छ।
यति प्रभावशाली र सक्रिय प्लेटफर्मको नेतृत्व तहमा नेपाली प्रतिनिधित्व हुनु नेपालको नागरिक समाजको अन्तर्राष्ट्रिय पहिचान र प्रभाव विस्तार हुने उपलब्धिका रूपमा हेरिएको छ।
विश्वव्यापी स्वास्थ्य वकालत, नीति र संस्थागत सहकार्यमा लामो अनुभव बोकेकी श्रेष्ठले यस भूमिकामार्फत विश्वभरका नागरिक समाज संस्थाहरूका साझा चासो, अनुभव र आवाजहरूलाई डब्लुएचओको को नीति तथा निर्णय प्रक्रियासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले नागरिक समाज–केन्द्रित सहभागिता, समावेशी संवाद र उत्तरदायी स्वास्थ्य शासन प्रवर्द्धनमा सक्रिय योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
हाल जुनू श्रेष्ठ अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस मा सिनियर पोलिसी एण्ड एडभोकेसी म्यानेजरको रुपमा कार्यरत छिन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
