प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवा-युवती सहभागी

सुर्खेत, २३ पुस । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसङ्ख्या घटेको जनाइएको छ ।
अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए ।
उनका अनुसार तालिमबाट चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने अपेक्षा गरिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
