नेपाल र भारतबीच स्वास्थ्य र उपचारका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धि परिमार्जित समझदारी पत्र स्वीकृत

काठमाडौँ, २३ पुस । सरकारले नेपाल र भारतबीच यसअघि भएको स्वास्थ्य र उपचारका क्षेत्रमा सहकार्य गर्ने सम्वन्धी समझदारी पत्रलाई परिमार्जनका साथ स्वीकृत गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत ११ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
अघिल्ला मन्त्रिपरिषद् बैठकहरुका समते गरी कुल ३५ निर्णय सार्वजनिक गर्ने क्रममा मंगलबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वास्थ्यबाट गएको प्रस्ताव स्वीकृत भएको समेत बताएका थिए ।
उनका अनुसार ११ पुसको मन्त्रिपरिषद्को बैठकले नेपाल र भारत सरकारबीच हुने स्वास्थ्य र उपचारका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धि ‘मेमोरेण्डम अफ अन्डरस्टाण्डिङ विटवीन द मिनिस्ट्री अफ हेल्थ एण्ड पपुलेसन अफ गभरमेन्ट अफ नेपाल एण्ड द मिनिस्ट्री अफ फेमेली वेलफियर अफ द गभरमेन्ट अफ द रिपव्लिक अफ इन्डिया अन कर्पोसरेन इन द फिल्ड अफ हेल्थ एण्ड मेडिसिन’ विषयक परिमार्जित समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले अघिल्लो सरकारको पालामा भएको नेपाल भारतबीच स्वास्थ्य तथा उपचारका क्षेत्रमा सहकार्य गर्ने सम्वन्धी प्रस्तावलाई बर्तमान सरकारले निरन्तरता दिएको बताए ।
२१ असोज २०८१ मा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल भारत भ्रमणमा रहेका बेला त्यहाँका समकक्षी जेपी नाड्डासंग भेटवार्ताका क्रममा स्वास्थ्य र उपचारका क्षेत्रमा सहकार्य गर्ने सम्वन्धी प्रस्ताव अघि बढाएका थिए ।
सोही अनुसार तत्कालीन केपी ओली नेतृत्वको सरकारको पालामा असारको दोस्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्र सहकार्यको फ्रेमवर्क तथा आयुर्वेद तथा परम्परागत चिकित्सा विज्ञानको विकास र बिस्तारका लागि भारतसँग नेपालले गर्न लागेको सम्झौता तथा समझदारीसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद बैठकले पारित गरेको थियो ।
स्वास्थ्य मन्त्रालय विकास, सहायता समन्वय शाखा प्रमुख डा. गुणनिधि शर्माले हेल्थ र मेडिसिनको क्षेत्रमा नेपाल र भारतबीच बृहत सरकार्य सम्वन्धी प्रस्ताव पहिले देखि नै छलफलको क्रममा रहेको र यसलाई यसपटक पनि परिमार्जन सहित स्वीकृत गर्ने निर्णय भएको बताए ।
अघिल्लो मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रस्तावमा तनहुँको दुलेगौंडामा रहेको नेपालकै एक मात्र स्वास प्रश्वास सम्वन्धी स्वास्थ्य उपचार केन्द्र जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा तीन सय शैय्याको संरचना निर्माणका लागि सहयोग भारतसंग अनुरोध भएको थियो । तत्कालीन मन्त्री पौडेलको सो प्रस्तावलाई भारतीय समकक्षी नाड्डाले समर्थन गरेका थिए ।
यस्तै त्यसबेलाको फ्रेमवर्क मस्यौदामा स्वास्थ्य तथा औषधी क्षेत्रमा सहकार्य गर्ने विषय उल्लेख थियो । यसैगरी भारतले नेपालका स्वास्थ्यकर्मीलाई भारतमा अध्ययन तालिम र क्षमता विकासको अवसरका लागि सघाउने भन्ने विषय समेत परेको थियो ।
यस्तै भारतमा उत्पादित औषधी नेपाली नागरिकलाई सुपथ मूल्यमा दिलाउन जिटुजीमार्फत खरिद गर्न सकिने गरी मस्यौदामा प्रस्ताव थियो । यसैगरी, नेपालमा उपचार सम्भव नभएका बिरामीको भारतमा उपचारमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गर्ने नेपालको तयारी थियो ।
त्यसबेलाका स्वास्थ्य मन्त्री पौडेलले आफ्ना भारतीय समकक्षी नाड्डालाई नेपाल भ्रमणको निम्तो दिएका थिए भने । स्वास्थ्य मन्त्रालयले पनि नाड्डा नेपाल आएका बेला प्रेमवर्क सम्झौँतामा हस्ताक्षर गर्ने गरी तयारी अघि बढाएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
