कान्तिलाई ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’को रुपमा विकास गर्ने र एक हजार शैय्यामा बिस्तार गरिने
स्वास्थ्य मन्त्री डा. शर्मा भन्छिन् 'हामी सकारात्मक छौँ'

काठमाडौँ, २२ पुस । स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले कान्ति बाल अस्पताललाई इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा विकास गर्ने विषयमा मन्त्रालय सधैं सकारात्मक रहेको बताएकी छन् ।
उनले कान्तिलाई १००० शैय्याको अत्याधुनिक स्वास्थ्य संस्थाको रूपमा बिस्तार गर्न आवश्यक पर्ने नीतिगत निर्णयहरूका लागि मन्त्रालयले सकारात्मक भूमिका खेल्ने बताएकी छन् ।
मंगलबार अस्पतालको ६४ औ बार्षिकोत्सब समारोहलाई सम्वोधन गर्दै मन्त्री गौतमले अस्पताल भित्रका समस्याहरूलाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न सुझाव तथा निर्देशन दिएकी थिईन् ।
उनले नयाँ आयोजनाहरू तत्काल अगाडि बढाउन नसकिने यतिवेलाको अवस्था रहेको भन्दै तर अस्पताल सञ्चालनमा कुनै पनि समस्या उत्पन्न भएमा जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने बताईन् । उनले थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्याहरूमा मन्त्रालयले पूर्ण सहयोग गर्ने समेत स्पष्ट पारिन ।
अस्पतालका निर्देशक डा पंकज रायले भावि योजना सुनाउँदै अस्पताललाई इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा विकास गरी स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्ने बताए । उनले अस्पताललाई एक हजार शैयाको अत्याधुनिक अस्पतालको रुपमा विकास गर्ने समेत योजना रहेको सुनाए ।
कान्ति बाल अस्पतालमा आर्थिक वर्ष २०८१ ०८२ मा अस्पतालमा ओपिडी सेवा लिने विरामीको संख्या १ लाख ६८ हजार ९४३ जना रहेको छ ।
यस्तै इमरजेन्सीमा ५४ हजार ९९४ जना र अनलाइन टिकटबाट ओपीडी सेवा लिने ५४१ जना गरी कुल २ लाख २३ हजार ९३७ जनाले सेवा लिएको जनाइएको छ ।
यस्तै अस्पतालमा गत आर्थिक वर्षमा ७४१ मेजर, १ हजार ७९ जना इन्टरमिडियट र १ हजार ३३७ जनाको माइनर गरी कुल ३ हजार १३० जनाको शल्यक्रिया भएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
