अनलाइन फार्मेसीमाथि कारबाही गर्न औषधी व्यवसायीद्धारा विभागको ध्यानाकर्षण

352
Shares

काठमाडौँ, २२ पुस । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा काठमाडौँले नियम विपरित सञ्चालित अनलाइन तथा डिजिटल फार्मेसी माथि कारबाही गर्न माग गरेको छ।

सोमबार औषधी व्यवस्था विभागका महानिर्देशक डा नारायण ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै शाखाले नियम विपरित सञ्चालित अनलाइन फार्मेसी माथि कारबाही गर्न माग गरेको हो।

संघका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवाल तथा महासचिव श्रीधर खनालको उपस्थितिमा जिल्ला शाखा काठमाडौँका अध्यक्ष शंकर महर्जन र सचिव शुभमान श्रेष्ठले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सो पत्रमा औषधीको दुरुपयोग तथा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै ऐन विपरित सञ्चालित अनलाइन तथा डिजिटल माध्यम मार्फत भइरहेको औषधिको बिक्रि वितरण र प्रचारप्रसार तत्काल नियन्त्रणमा लिन संघले माग गरेको छ ।

औषधी ऐन २०३५, औषधी बिक्रि वितरण संहिता २०८० र अन्य कुनै पनि औषधी सम्बन्धी प्रचलित ऐन तथा कानुनमा अनलाइन तथा डिजिटल माध्यम मार्फत औषधीको बिक्रि वितरण गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नरहेको संघले जनाएको छ।

यस किसिमको प्रचलनले चिकित्सकको प्रेसक्रिप्सनको अवहेलना, औषधीको दुरुपयोग, जनस्वास्थ्यमा जोखिम, फार्मेसीहरु अस्वस्थ प्रतिस्पर्धा लगायतको समस्या देखिने संघको ठम्याई छ।

सामाजिक सञ्जाल मार्फत औषधिको विज्ञापन, अस्वस्थकर अफर तथा प्रतिस्पर्धा, होम डेलिभरी जस्ता गतिविधि माथि नियमन गरी ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्था माथि कानुन बमोजिम कारबाही गर्न संघले विभागसंग माग गरेको छ ।

पछिल्ला दिनमा काठमाडौँ लगायतका शहरी क्षेत्रमा अनलाइनको माध्यमबाट औषधीको विक्री बितरण हुँने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *