स्वास्थ्य मन्त्रालयमा पनि सुरु भयो ‘पेपरलेस सिस्टम’

660
Shares

काठमाडौँ, २१ पुस । कतिपय मन्त्रालयहरुले केही समय अघि देखि नै ‘पेपरलेस सिस्टम’ गरे पनि रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसलाई कार्यान्वयन गर्न सकेको थिएन ।

तर, २४ भदौको जेनजी आन्दोलनले मन्त्रालय नै जलेपछि भने ‘सिस्टम’ फेरिएको छ । केही महाशाखा रामशाहपथमै रहेको र केही महाशाखा सिंहदरबार भित्र सरेको अवस्थाको मन्त्रालयले केही साता यता आफ्ना कामलाई ‘पेपरलेस सिस्टम’मा लगेको हो ।

‘आगलागी पछि मन्त्रालयका सबै कागजात जलेर नस्ट भएको छ । यहि मौका छोपेर हामीले हामीले मन्त्रालयलाई डिजिटल युगमा प्रवेश गराउने जमर्को गर्‍यौँ । पेपर लेस सिस्टममा लैजाने तयारी गरेका छौँ । सुरु सुरुमा केही प्राविधिक अल्झनहरु त आउँछन् तर हामीले समाधान गर्दै अघि बढेका छौँ,’ मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले भने ।

मन्त्रालयले कार्यक्रम, निर्णयका लागि पेश हुने फाइलहरुमा लेखिने टिप्पणीहरु कम्प्युटरमा टाइप हुने र अन्य राय सुझाव तथा निर्णयका लागि पेश गर्न पनि सिस्टम भित्रको नेटवर्ककै प्रयोग हुने गरेको छ ।

‘हामीले उठाएका फाइलहरु निर्णयका लागि सचिवसंग पुर्‍याउँनु पर्दा पहिले फाइल बोकेर हिड्नु पर्दथ्यो भने अब चाहि नेटवर्कबाट पठाइदिए हुने भयो । उहाँहरुले पनि सिस्टममै गएर आफ्ना निर्णयहरु लेख्नु हुनेछ,’ डा. सापकोटाले भने ।

मन्त्रालयले अहिले बाहिरबाट आउने पत्र तथा रिपोर्टहरुलाई पनि स्क्यान गरि आफ्नो अनलाइन सिस्टममा अपलोड गर्ने गरेको जनाएको छ ।

‘डिजिटल सिस्टममा गएपछि अब फाइल राख्ने दराज चाहिएन, आगोले जल्ने हो कि ? मुसाले काट्ने हो कि ? पानीले भिज्ने हो कि ? फाइलहरु हराउने हो कि भन्ने डर पनि भएन । धेरै हिसावले फाइदा छ,’ डा. सापकोटाले भने ।

आइतबार रामशाहपथस्थित स्वास्थ्य समन्वय महाशाखा पुग्दा डा सापकोटासंगै बहुक्षेत्रीय समन्वय शाखा प्रमुख डा. समिरकुमार अधिकारी र विकास सहायता समन्वय शाखा प्रमुख डा. गुणनिधि शर्माले अनलाइन सिस्टमलाई थप सहज बनाउने विषयमा काम गर्दै थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *