भारतमा मेडिकल शिक्षा : दशक भित्र दोब्बरले बढ्यो मेडिकल कलेज, दोब्बरले थपियो सिट

नयाँ दिल्ली । भारतमा पछिल्लो एक दशकमा मेडिकल शिक्षा क्षेत्र व्यापक रुपमा विस्तार भएको नयाँ तथ्यांकले देखाएको छ ।
त्यहाँ सन् २०१४ देखि अहिले सन् २०२५ सम्म आईपुग्दा देशभर मेडिकल कलेजहरुको संख्या दोब्बर भन्दा बढी पुगेको छ भने एमबीबीएस र पीजी तहका सिट बृद्धिमा पनि उछाल देखिएको छ ।
यसले भारतलाई विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य जनशक्ति तयार गर्ने देशको सूचीमा उभ्याएको विज्ञहरुले बताएका छन् ।
कति पुग्यो ?
टाइम्स अफ इन्डियाका अनुसार भारतमा पछिल्लो ११ वर्षमा मेडिकल कलेजको संख्या दोब्बर बढी भईसकेको छ । भारतको नेशनल मेडिकल कमिसन (एनएमसी)का अनुसार सन् २०१४ मा देशभर ३८७ वटा मेडिकल कलेज थिए । तर सन् २०२५ मा आईपुग्दा यो संख्या बढेर ८१९ पुगेको छ । अर्थात ११ वर्षमा ११२ प्रतिशतले बृद्धि भएको पाइएको छ ।
यसले भारतलाई दक्षिण एशियाको सबैभन्दा ठूलो र विश्वस्तरको तेस्रो ठूलो मेडिकल शिक्षा नेटवर्क भएको देशको रुपमा परिचित गराएको छ ।
एबीबीएस र पीजी तहमा कति बढ्यो सिट ?
एनएमसीका अनुसार सन् २०१४ मा भारतभर एमबीबीएस सिट संख्या ५१ हजार ३४८ रहेको थियो । तर सन् २०२५ सम्म आईपुग्दा यो सिट बढेर १ लाख १३ हजार २१९ पुगेको छ । अर्थात ११ वर्षमा भारतमा एमबीबीएस सिटसंख्या १२० प्रतिशत बढेको छ ।
यस्तै मेडिकल तर्फ पोष्टग्राजुएटस (पीजी) तहमा पनि यो अवधीमा भारी मात्रामा सिट बृद्धि भएको छ । पीजी तर्फ सन् २०१४ मा भारत भर ३१ हजार सिट रहेकोमा सन् २०२५मा सो सिटसंख्या बढेर ७० हजार नजिक पुगेको छ । यसले भारतमा सुपर स्पेश्यालिटी र टर्सरी केयरका लागि दक्ष जनशक्ति बढाएको छ ।
विज्ञहरुले भारतमा पछिल्लो समय मेडिकल शिक्षामा उभार आउनुमा केही कारणहरु बताएका छन् ।
त्यसमा उनीहरुले भनेका छन्, पहिलो नम्बर राज्यले लिएको मेडिकल एजुकेशन रिफर्म एजेन्डा हो, जसले एनएमसी स्थापना, कडा मापदण्ड र पारदर्शिताको कुरा समेटेर आयो ।
उनीहरुले यसरी उभार आउनुको दोस्रो कारण निजी क्षेत्रलाई बढावा दिनु भएको बताएका छन् । भारतमा पब्लिक प्राइभेट पाटर्नसीप(पीपीपी मोडेल)अघि बढेको छ । निजी विश्वविद्यालयहरुले कलेज खोल्न पनि सहज छ ।
यसैगरी तेस्रो कारणमा डिस्ट्रिक मेडिकल कलेज मोडल भएको बताएका छन् । भारत सरकारले एक जिल्ला एक मेडिकल कलेज रणनीति पनि अघि सारेको छ ।
अर्को सबैभन्दा महत्वपूर्ण पार्टो आर्थिक सहयोग पनि हो । मेडिकल शिक्षा सुधारका लागि सरकारले सेन्ट्रल स्पोन्सर स्किम (सीएसएस) मार्फत सरकारी सहयोग उपलव्ध गराउँदै आएको छ ।
ग्रामीण क्षेत्रमा चिकित्सा शिक्षा बिस्तार
भारतमा पहिले मेडिकल कलेजहरु मुख्यतया दिल्ली, महाराष्ट्र तामिलनाडु, कर्नाटकमा केन्द्रीत थिए । तर पछिल्लो एघार वर्षमा उत्तरप्रदेश, राजस्थान, मध्यप्रदेश, बिहार, झारखण्ड, उत्तराखण्ड जस्ता राज्यमा ठूलो संख्यामा मेडिकल कलेजहरु थपिएका छन् । यसबाट भारत सरकारले स्थानीय तहमा चिकित्सा सेवा वितरणमा समेत ठूलो सुधार ल्याउने अपेक्षा गरेको बताइएको छ ।
ग्रामीण क्षेत्रमा डाक्टर अभाव घटने, स्वास्थ्य सेवामा पहुँच बढ्ने तथा विदेशी विद्यार्थी आकर्षित गर्न पनि यो नीति फलदायी हुने विज्ञहरुले बताएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
