औषधी व्यवस्था विभागको समग्र सुधारका लागि महानिर्देशक डा. ढकालको संयोजकत्वमा कार्यदल गठन

428
Shares

काठमाडौँ, ८ मंसिर । स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले औषधी व्यवस्था विभागको समग्र सुधारका लागि भन्दै नयाँ कार्यदल बनाएकी छन् । मन्त्री डा. गौतमले गत २ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ कार्यदल घोषणा गरेकी हुन् ।

‘औषधी व्यवस्था विभाग समग्र सुधारसहित पञ्चवर्षीय रणनैतिक कार्ययोजनाको मस्यौदा तर्जुमा सम्बन्धि कार्यदल’ नाम दिइएको उक्त कार्यदलमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केशरबहादुर ढकाल संयोजक तोकिएका छन् ।

उक्त कार्यदलमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा सङ्घरत्न बज्राचार्य, राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक भरत भट्टराई, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखामा प्रमुख डा. पवनजंग रायमाझी, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे र औषधी व्यवस्था विभागका पूर्व महानिर्देशक बालकृष्ण खकुरेललाई सदस्य तोकिएको छ ।

उक्त कार्यदलको सदस्य सचिवको जिम्मेवारी मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मालाई दिइएको छ ।

उक्त कार्यदलले एक महिना भित्र औषधी व्यवस्था विभाग र सो अन्तर्गतका निकायमा हुने काम कार्वाहीलाई चुस्त तथा व्यवस्थित गर्नका लागि संरचनागत सुधारका लागि प्रतिवेदन तयार गर्नु पर्नेछ ।

‘मन्त्री ज्यूले हामीलाई एक महिनाको समय सिमा दिनु भएको छ । त्यो अवधी भित्र हामीले विभागका कामलाई व्यवस्थित पारदर्शी र छिटो छरितो ढंगले अघि बढाउनका लागि कहाँ कहाँ सुधार गर्नु पर्नेछ । संरचनागत रुपमा पनि हामीले सुझाव दिनका लागि कार्यादेश दिईएको छ,’ सदस्य सचिव डा. शर्माले भने ।

यसैबीच कार्यदलको पहिलो बैठक आइतबार (हिजो) बसेको छ । स्वास्थ्य सेवा विभागमा बसेको बैठकले तोकिएको कार्यादेशका बारेमा छलफल गरेर कार्यारम्भ गरेको डा. शर्माले बताए ।

‘कार्यदल गठन गर्ने बारेमा २ मंसिरमा निर्णय भयो, ५ मंसिरमा पत्र पायौँ, ७ मंसिरमा पहिलो बैठक बसेका छौँ । तोकिएकै अवधी भित्र काम सम्पन्न गर्ने हाम्रो लक्ष्य हो,’ सदस्यसचिव डा.  शर्माले भने ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “औषधी व्यवस्था विभागको समग्र सुधारका लागि महानिर्देशक डा. ढकालको संयोजकत्वमा कार्यदल गठन

  1. नेपाल औषधी व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखा says:

    औषधि ऐन २०३५ ले तोकिएको सल्लाहकार समितिको एक सदस्य र औषधी व्यवस्था बिभागलाई स्थापना भएको दिनदेखि बुझेको र पटक पटक सुधारको बाटो देखाउदै आएको प्रमुख घटक, प्रत्यक्ष सरोकार राख्ने संघ नेपाल औषधी व्यवसायी संघलाई बाहिर राखेर कस्तो बन्ला मस्यौदा पुर्वसंकेत देखि सकिएको छ। साबधान!

Leave a Reply

Your email address will not be published. Required fields are marked *