अन्तर्राष्ट्रिय मधुमेह महासंघ दक्षिणपूर्वी एसियाको बार्षिक सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ, ६ मंसिर । अन्तर्राष्ट्रिय मधुमेह महासंघ दक्षिणपूर्वी एसियाको बार्षिक सम्मेलन काठमाडौँमा सुरु भएको छ ।   डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालको आयोजनामा सम्मेलन यसपटक काठमाडौँमा सुरु भएको हो ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालका अध्यक्ष डा. अमित शाक्यले मधुमेहका क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धी, उपचार प्रविधि तथा ज्ञान एक आपसमा आदानप्रदान गर्नका लागि सम्मेलनको आयोजना गरिएको बताए ।

उनले भने, ‘यस प्रकारको सम्मेलनमा हुने छलफलमा एक अर्काको देशमा भइरहेका उपचार, बिरामीको अवस्था तथा नयाँ नयाँ कुराको बारेमा जानकारी हुने र धेरै कुरा सिक्ने मौका मिल्छ । त्यसैले पनि यस खालको छलफल भइरहन जरुरी छ ।’

कार्यक्रममा आइडीएफका अध्यक्ष डा. वंशी सबोले साउथ इस्ट एशियामा मधुमेहको अवस्था उस्तै उस्तै रहेको बताउँदै यसलाई कम गर्न संयुक्त रुपमा गाइडलाइन्स बनाएर जान सकिने बताए । उनले जीवनशैलीसँग सम्बन्धित यो रोगकाबारेमा जनचेतना र समयमै उपचार नै यसको मुख्य आधार भएको बताए । आफनो खानपान र एक्सरसाइजमा मात्र ध्यान दिएमा धेरै हदसम्म मधुमेह कम गर्न सकिने पनि उनले जिकीर गरे ।

आयोजक समितिकी अध्यक्ष डा. डिना श्रेष्ठका अनुसार सम्मेलनमा मधुमेह, मोटोपन, खानपान, मधुमेहले निम्त्याउने अन्य गम्भीर रोग र समस्या लगायतका विषयमा प्रस्तुतीकरण रहेका छन्।

सम्मेलनमा यस क्षेत्रका २०० भन्दा बढी विज्ञ तथा चिकित्सकहरु सहभागी रहेको आयोजक समितिका सचिव डा सन्तोष शाक्यले बताए । आईडीएफ दक्षिण पूर्व क्षेत्रका सदस्यहरुमा नेपाल सहित बंगलादेश, भारत, माल्दिभ्स, मौरिसस र श्रीलङ्का गरी छ देश क्षेत्र समावेश छन्।

दक्षिण पूर्वी एसियामा तीब्र रुपमा बढ्दै मधुमेह, नेपालमा १२ लाख भन्दा बढी प्रभावित

यसैबीच दक्षिण पूर्वी एसिया क्षेत्रमा पछिल्लो समय मधुमेह रोगको उच्च जोखिम क्षेत्रको रुपमा परिणण हुँदै गएको देखिएको छ ।

अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ)का अनुसार विश्वभर हाल ५८ करोठ ९० लाख अर्थात ५८९ मिलियन मानिस मधुमेहसँग बाँचिरहेका छन् । त्यसमध्ये १० करोड ७० लाख अर्थात १०७ मिलियन मासिन दक्षिणपूर्वी एसिया क्षेत्रमा रहेका छन् । यहि अवस्था रहेमा सन् २०५० सम्ममा यो संख्या बढेर १८ करोड ५० लाख पुग्ने आइडीएफको अनुमान छ ।

आईडीएफ डाइबेटिक एटलस २०२४ का अनुसार नेपालमा १ करोड ९१ लाख १७ हजार ९०० बयस्क जनसंख्या छन् । ती मध्य १२ लाख ५९ हजार १०० जना बयस्क मधमेह भएको अनुमान गरिएको छ ।

डा श्रेष्ठका अनुसार शहरीकरणसंगै बदलिएको जीवन शैली, शारीरिक निस्क्रियता , असन्तुलित आहार, बढ्दो मोटोपनाका कारण नेपालमा मधुमेह बढ्दो देखिएको छ । अझ धेरै व्यक्तिहरु प्रि डायबेटिक अवस्थामा रहेर उपचारमा ढिलाई गर्ने प्रबृत्तिका कारण पनि जोखिम अझ बढाइरहेको चिकित्सकहरु बताउँछन् ।

क्षेत्रीय चुनौती र चेतावनी
दक्षिण–पूर्व एसिया क्षेत्रका देशहरू—विशेषगरी भारत, बंगलादेश र श्रीलङ्कामा—मधुमेहको भार अत्यधिक छ, जसको प्रत्यक्ष असर नेपालमासमेत देखिने विशेषज्ञहरूको मूल्याङ्कन छ।

‘यदि स्क्रिनिङ, जीवनशैली सुधार र जोखिम व्यवस्थापनमा तत्काल लगानी बढाइएन भने २०५० सम्म यो क्षेत्र विश्वकै सबैभन्दा बढी प्रभावित क्षेत्र बन्नेछ,’ विज्ञहरूको चेतावनी छ।

नियन्त्रणका लागि के के आवश्यक छ ?
चितवन मेडिकल कलेजका इन्डोक्राइनोलोजिष्ट डा. सौरभ खतिवडा भन्छन्, ‘अहिले जसरी विद्यालय तहको पाठ्यक्रममा जंकफुड र हेल्दी फुडका कुरा समेटिएका छन्, त्यसैगरी थप सचेतनाका कार्यक्रमहरु विद्यालय तहबाट सिकाउनु पर्ने हुन्छ ।’

उनले बालबालिकाहरुमा मोटोपनाको समस्याबाट जोगाउनका लागि खानपान र शारीरिक व्यायमको बातावरण बनाउनु पर्ने बताए ।

यता शंकरापुर अस्पतालका डा. रमेश ढकाल तीब्र शहरीकरणमा देखिएको नेपाली परिवारको खानपान र जीवनशैलीमा आएको परिवर्तनले मधुमेहको जोखिम बढेको बताउँछन् । मोटोपना, शारीरिक निस्कृयता, अस्वस्थकर खानपानबारे मधुमेहका कारक हुन् भन्दै उनले पनि सचेतनालाई जोड दिनु पर्ने बताए ।

अब गर्नुपर्ने के ?
डा. ढकाल भन्छन्,

  • नियमित रुपमा मधुमेहको स्क्रिनिङ गर्नु पर्छ ।
  • ग्रामीण क्षेत्रमा मधुमेह रोगको उपचार सेवा पुरयाउनु पर्छ ।
  • मधुमेहबारे जनचेना बढाउनु पर्छ । यसमा लगानी थप्नु पर्छ ।
  • आहार, व्यायाम र वजन व्यवस्थापनमा राष्ट्रव्यापी अभियान सुरु गर्नु पर्छ ।
  • प्री–डायबेटिक पहिचान र प्रतिरोधात्मक कार्यक्रम सुरु गरिनुपर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *