बार्षिकोत्सवको अवसर पारेर भक्तपुर क्यान्सर अस्पतालले सञ्चालनमा ल्यायो नयाँ प्रयोगशाला

भक्तपुर, २४ कात्तिक । भक्तपुर क्यान्सर अस्पतालमा आजबाट नयाँ प्रयोगशाला सञ्चालनमा आएको छ । अस्पतालले ३१ औं वार्षिकोत्सवको अवसर पारेर आजबाट प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
बार्षिकोत्सव समारोहमा प्रमुख अतिथि बनेर स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम पुगेकी थिईन् । अस्पतालले डा गौतमकै हातबाट प्रयोगशालाको उद्घाटन गरेको हो ।
सो अवसरमा बोल्दै मन्त्री डा शर्माले नयाँ प्रयोगशाला सञ्चालनमा आएपछि बिरामीहरुका लागि स्वास्थ्य परीक्षण र उपचारमा थप सहजता थपिने विश्वास गरिन । उनले साँघुरो ठाउँलाई व्यवस्थित गरेर ठूलो सेवा दिईरहेको भन्दै अस्पताल नेतृत्व र उनको टिमको प्रशंसा समेत गरिन । उनले भक्तपुर क्यान्सर अस्पतालले विगत तीन दशकमा गौरव गर्न लायक काम गरेको भन्दै सरकारले यसलाई राष्ट्रियस्तरको ‘क्यान्सर एक्सिलेंस सेन्टर’का रूपमा विकास गर्न दीर्घकालीन योजना बनाइरहेको बताईन ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र संस्कृति तथा पर्यटन मन्त्री सुरेन्द्र श्रेष्ठले भक्तपुर अस्पतालका लागि तत्काल जग्गा र ओएनएम सर्भे आवश्यक रहेको बताएका थिए । उनीहरुले चागुनारायणमा ४४ रोपनी बढी जग्गा भक्तपुर अस्पतालका लागि छुट्याएको भए पनि संघीय सरकारले त्यसबारे निर्णय नगरेकोले रोकिएको जानकारी दिएका थिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले तीन दशकअघि दुई शैयाबाट सुरु भएको अस्पताल आज १५० शैयाको अत्याधुनिक क्यान्सर अस्पतालका रूपमा विकसित भएको जानकारी गराए। उनले अस्पतालले सस्तो र गुणस्तरीय सेवा प्रदान गर्दै क्यान्सर उपचारमा देशभित्रै ठूलो योगदान पुर्याइरहेको उल्लेख गरे।
डा। चालिसेले अस्पतालको भौतिक संरचना विस्तारका लागि चाँगुनारायण नगरपालिका–३ मा ४५ रोपनी जग्गा स्वीकृत भइसकेको जानकारी दिँदै मन्त्रालयले यसलाई शीघ्र स्वीकृत गर्ने अपेक्षा व्यक्त गरे। साथै उनले सेवा विनियमावली र स्वीकृत गर्न आग्रह गर्दै यसले जनशक्ति व्यवस्थापनमा सहजता ल्याउने बताए।
कार्यक्रममा अस्पतालका २० र २५ वर्ष सेवा दिने कर्मचारीहरूलाई सम्मान गरिएको थियो। डा. चालिसेले सबै कर्मचारी, सहयोगी संस्था र सरोकारवालाप्रति आभार व्यक्त गर्दै अस्पताललाई आगामी दिनमा देशकै उत्कृष्ट क्यान्सर केयर सेन्टर बनाउने प्रतिबद्धता व्यक्त गरे।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
