औषधी क्षेत्र सुधारका लागि विभागका महानिर्देशक ढकाल र प्रयोगशालाका निर्देशक भट्टराईलाई संगै राखी मन्त्रीको छलफल
काठमाडौँ, २४ कात्तिक । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक भरत भट्टराईबीचको आपसी सम्वन्ध त्यति फरासिलो सुनिदैन ।
एउटै कम्पाउण्डमा भएको दुई ठूला निकायको नेतृत्व गरेका उनीहरु एक आपसमा भेट नभएको बर्षौ भईसकेको कर्मचारीहरु बताउँछन् । तर आईतबार स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले दुबैलाई बोलाइन, संगै राखिन र औषधी क्षेत्र सुधारका लागि भन्दै छलफल गरिन् ।
छलफलमा प्रयोगशालाका निर्देशक भट्टराईले औषधी क्षेत्र सुधारका लागि भन्दै तयार गरेको आफ्नो कार्यपत्र समेत प्रस्तुत गरेका थिए । विभागका महानिर्देशक ढकालले प्रस्तुति सुनेका थिए, उठेका कुराहरुलाई स्पष्ट पार्ने कोशिश गरेका थिए ।
‘हो हामीलाई मन्त्री ज्यूले बोलाउनु भएको थियो । मन्त्री ज्यूसंग बसेर औषधी क्षेत्र सुधारमा के कसरी काम गर्न सकिन्छ भनेर छलफल गरेका हौँ,’ विभागका महानिर्देशक ढकालले भने ।
प्रयोगशालाका निर्देशक भट्टराईले विभागमा छोटो समय नेतृत्वमा रहँदा आफूले गरेका सुधारका कामंसंगै अब सकिने र गर्न पर्ने कामका बारेमा प्रस्तुतिकरण गरेको जानकारी दिए ।
स्वास्थ्य मन्त्री डा. शर्माले पछिल्लो पटक औषधीको मूल्य, गुणस्तर तथा सहज उपलव्धताका विषयमा चासो लिएको बताउँदे आएकी छन् ।
उनले औषधीको क्षेत्र सुधारका लागि विज्ञसम्मिलित समिति बनाई त्यसले दिएको सुझावको आधारमा काम गर्ने बताउँदै आएकी छन् ।
आइतबारको बैठकमा फार्मेसी समूहका एघारौँ तहका दुई अधिकृत जो विभागको आलोपालो जस्तै गरी महानिर्देशक बन्दै आएका छन्, उनीहरुलाई संगै राखेर छलफल गर्नुले बर्तमान मन्त्री औषधीका विषयलाई चासोपूर्वक हेरेको धेरैको अनुमान छ ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
