अस्पतालहरुलाई स्वास्थ्य बीमा बक्यौता भुक्तानीका लागि स्वास्थ्यले अर्थसंग माग्यो ७ अर्व २५ करोड थप
काठमाडौँ, २० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमबाट उपचार सेवा दिएका अस्पतालहरुको बक्यौता सोधभर्नाका लागि अर्थ मन्त्रालयसंग थप सात अर्व २५ करोड ८३ लाख रुपैयाँ माग गरेको छ । थप रकमका लागि स्वास्थ्यले आजै अर्थ मन्त्रालयलाई पत्र पठाएको छ ।
यसअघि बुधबार स्वास्थ्य बीमा बोर्डले सात अर्व २५ करोड ८३ लाख रुपैयाँ भए अस्पतालहरुमा रहेको असोज मसान्तसम्मको सबै बक्यौता पुरा हुने भन्दै थप रकम माग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा स्वास्थ्यले अर्थसंग थप रकम मागेको हो ।
स्वास्थ्य मन्त्री सुधा शर्माले स्वास्थ्य बीमा कार्यक्रमका लागि केही थप रकम चाहिने देखिएकोले अर्थसंग रकम माग गरिएको बताईन् । उनले थप रकमका सम्वन्धमा आज मन्त्रालयले निर्णय गरेर अर्थमा पत्र पठाएको जानकारी दिईन् ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले असोज मसान्तसम्म पुरानो सबै भुक्तानी सोधभर्ना गर्ने सरकारको पूर्वप्रतिवद्धता कार्यान्वयन गर्न रकम अभाव भएकोले थप रकम मागिएको बताए । ‘हामीले सात अर्व २५ करोड ८३ लाख रुपैयाँ माग गरेका छौँ । यो रकम आयो भने हामीसंग कोषमा भएका केही रकम समेत जोडेर असोज मसान्तसम्मको सबै बक्यौँता तिरिन्छ,’ उनले भने ।
त्यसो त बोर्डले लामो समय देखि थपिदै गएको माग दावीको रुजु गरी स्वीकृत गर्न तीन महिने करारमा १८० जना चिकित्सक सहितको जनशक्ति लिएर काम गरेको थियो । सो जनशक्तिले सबै दावी भुक्तानीको रुजु गरेर सकेको र अब रकम सोधभर्ना गर्न मात्र बाँकी रहेको बतायो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्व रकम बिनियोजन गरेको थियो । सो मध्ये ठूलो हिस्सा बोर्डले वितरण गरिसकेको छ । ‘कोषमा बजेटको करीव ३ अर्व आसपासमा रकम होला, अब थप रकम आएपछि पुरानो बक्यौँता तिर्ने योजनामा छ,’ स्वास्थ्य मन्त्रालयका योजना शाखाका एक कर्मचारीले भने ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि सूचीकृत भएका अस्पतालहरुले भुक्तानी नपाउँदा चिकित्सक तथा स्वास्थ्यकर्मी कर्मचारीहरुको तलव भत्ता, उपचारका लागि खरीद गरिएका औषधी तथा उपकरणको भुक्तानी दिन समेत अफ्टेरो परेको बताउँदै आएका छन् ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
