के तपाईँमा दूध खाएपछि पेट गडबड हुने समस्या छ ? यस्तो हुन सक्छ कारण

20
Shares

एजेन्सी । के तपाईंलाई दूध वा डेयरी उत्पादन खाएपछि पेट फुल्ने, ग्यास हुने वा पखाला जस्ता समस्या हुने गर्छ ? यदि हुने गर्छ भने, तपाईंको शरीर ‘ल्याक्टोज असहिष्णुता’ (Lactose Intolerance) मा पर्दछ । अर्थात ल्याक्टोजमा हुने चिनि पचाउन नसक्ने समस्याबाट ग्रस्त छ ।

ल्याक्टोज के हो ?

ल्याक्टोज एउटा प्राकृतिक सुगर (चिनी) हो, जुन जनावरको दूध र दूधजन्य पदार्थमा पाइन्छ।

सामान्य अवस्थामा सानो आन्द्राले ‘ल्याक्टेज’ नामक एन्जाइम उत्पादन गर्छ, जसले दूधमा रहेको ल्याक्टोजलाई पचाउन सहयोग गर्छ।

तर जब शरीरले पर्याप्त ल्याक्टेज उत्पादन गर्न सक्दैन, तब दूधमा रहेको ल्याक्टोज पच्न सक्दैन — यही अवस्थालाई ल्याक्टोज असहिष्णुता भनिन्छ।

कसरी देखिन्छ लक्षण ?

ल्याक्टोज असहिष्णुताका लक्षण डेयरी पदार्थ खाएको केही मिनेटदेखि केही घण्टासम्ममा देखिन सक्छन्। सामान्य लक्षणहरू यसप्रकार छन् :

  • पेट फुल्नु वा ग्यास हुनु
  • बारम्बार डकार आउनु
  • पेट दुखाइ वा बेचैनी
  • पखाला वा कब्जियत
  • केही व्यक्तिमा छालामा र्‍यास आउनु, टाउको दुख्नु, जोर्नी दुख्नु, थकान र ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या पनि देखिन सक्छ।

यदि लामो समयसम्म पखाला, कब्जियत, पेट अत्यधिक सुन्निनु, दिसामा रगत देखिनु वा तौल तीव्र गतिमा घट्ने समस्या छ भने तुरुन्तै ग्यास्ट्रोएन्टेरोलोजिस्ट (आन्द्रा विशेषज्ञ) सँग परामर्श लिनु जरुरी हुन्छ।

कुन-कुन पदार्थमा हुन्छ ल्याक्टोज ?

ल्याक्टोज गाई, भैंसी, बाख्रा र भेडाको दूधमा पाइन्छ।  यसका उत्पादनहरू — दूध, पनीर, दही, मक्खन, क्रीम, आइस्क्रिम आदि सबैमा ल्याक्टोज हुन्छ।

त्यसैगरी, केही प्रोसेस्ड फुडमा पनि ल्याक्टोज मिसिएको हुन सक्छ, जस्तै : ब्रेड, बिस्कुट, पेस्ट्री, मिल्कशेक, सस, सलाद ड्रेसिङ, प्रोटिन शेक आदिमा।

कसरी पत्ता लगाउने ?

सबैभन्दा सजिलो तरिका भनेको परीक्षणका लागि आफ्नो खानपानमा ध्यान दिनु हो। यदि दूध वा डेयरी पदार्थ खाँदा पेट फुल्ने वा पखाला हुने गर्छ भने केही दिन ती वस्तु नखाई हेर्नुहोस् — समस्या हरायो भने तपाईं ल्याक्टोज असहिष्णु हुनुहुन्छ।

प्रयोगशालामा पनि यो अवस्था निम्न परीक्षणबाट पत्ता लगाइन्छ :

  • ल्याक्टोज टोलरेन्स टेस्ट – उपवासपछि ल्याक्टोजयुक्त पदार्थ दिइन्छ र रगतमा सुगरको स्तर मापन गरिन्छ।
  • हाइड्रोजन सास परीक्षण – ल्याक्टोजयुक्त तरल पिएपछि सासमा हाइड्रोजनको मात्रा नापिन्छ।
  • मल एसिड टेस्ट – साना बच्चामा गरिने यो परीक्षणले दिसामा एसिडको मात्रा हेर्छ।
  • बायोप्सी वा ग्यास्ट्रोस्कोपी – लक्षण गम्भीर भएमा सानो आन्द्राबाट नमुना लिएर परीक्षण गरिन्छ।

उपचार के हो ?

ल्याक्टोज असहिष्णुताको स्थायी उपचार छैन, किनभने शरीरलाई थप ल्याक्टेज उत्पादन गराउने कुनै औषधि हालसम्म पत्ता लागेको छैन।
तर, खानपानमा ध्यान दिएर र ल्याक्टेज सप्लिमेन्ट प्रयोग गरेर लक्षण नियन्त्रण गर्न सकिन्छ।

मुख्य उपाय भनेको 
👉 ल्याक्टोजयुक्त खाना नखानु वा सीमित मात्रामा मात्र सेवन गर्नु।
👉 बजारमा पाइने ल्याक्टोज(फ्री दूध वा ल्याक्टोज-फ्री फुड प्रोडक्ट रोज्नु।
👉 हार्ड चीज र दहीमा ल्याक्टोज कम हुने भएकाले ती सानो मात्रामा खान सकिन्छ।

केही अवस्थामा एलर्जी पनि हुन सक्छ

यदि दूध खाएपछि मुख, ओंठ, घाँटी वा जिब्रो सुन्निनु, छालामा डाबर आउनु, सास फेर्न गाह्रो हुनु वा टाउको भारी हुने जस्ता लक्षण देखिए भने त्यो फुड एलर्जी पनि हुन सक्छ, जसको उपचार तुरुन्तै गर्नुपर्छ।

निष्कर्ष:
दूध क्याल्सियम, प्रोटिन र भिटामिन डीको उत्कृष्ट स्रोत हो। तर यदि तपाईंलाई यसबाट बारम्बार पाचनसम्बन्धी समस्या हुन्छ भने चिकित्सकको सल्लाह लिनुहोस् र आफ्नो शरीरका लागि उपयुक्त विकल्पहरू छनोट गर्नुहोस्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *