घिउ खान डराउनु पर्दैन

128
Shares

धेरैले घिउमा भात मुछेर खान मीठो मान्छन् । त्यसमध्ये कतिपय चाहिँ रोग लाग्ला कि भनी डराई डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि यसका कारण विभिन्न प्रकारका रोग लाग्छ भन्ने डर मनमा परेको हुन्छ ।

कोही रोगी रहेछ भने उसको त्यो रोग बढेर हृदयघात, मस्तिष्कघातजस्ता खतरनाक स्थिति उत्पन्न हुन्छ भन्ने डर पसेको हुन्छ ।

वास्तवमा स्वस्थ मानिसले मात्र होइन उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, मिर्गौलारोगी आदिले समेत विचार पुऱ्याएर खाने हो भने घिउ खान कति पनि डराउनुपर्दैन ।

घिउ चिल्लो पदार्थ हो, जसमा भिटामिन ‘ए’, ‘डी’,  ‘ई’ र ‘के’ प्रशस्त मात्रामा पाइन्छ । यसमा एन्टिअक्सिडेन्टहरु र अन्य पौष्टिक तत्त्वहरू धेरै पाइन्छ । यो स्याचुरेटेड फ्याट हो । यसबाट शरीरमा प्रशस्त मात्रामा असल र खराब दुवै प्रकारका कोलेस्टेरोलको निर्माण हुन्छ ।

स्याचुरेटेड फ्याटले मुटुरोग बढाउँछ, हृदयघात गराउँछ भन्ने सोचाइ आज पनि व्याप्त छ । यस कारण मानिस घिउ खान डराउँछन् । तर आज धेरै ठूला-ठूला अनुसन्धानहरूले यो डरलाई मेटाइदिएका छन् । बिचार  पुर्‍याएर घिउ खाँदा फाइदा मात्र छ, बेफाइदा छैन ।

बिचार पुऱ्याएर घिउ खाने भनेको के हो ?

घिउका बारेमा भएका विभिन्न अध्ययन, अनुसन्धान र मेरा व्यक्तिगत अनुभवबाट प्राप्त तथ्यहरुको आधारमा यसलाई थप स्पष्ट पार्ने प्रयास गरेको छु ।

१. घिउलाई धुवाँ उड्ने विन्दुसम्म ततायो भने यसमा भएका पौष्टिक तत्त्वहरु नष्ट हुन्छन् र यसले बेफाइदा गर्न सक्छ । घिउ खाँदा धेरै तताएको घिउ खानुहुँदैन । घिउ नतताईकन अथवा थोरै मात्र तताएर भात वा अन्य खानामा मिसाएर खाँदा स्वादिलो पनि हुन्छ, फाइदा पनि गर्छ । थोरै घिउले खाना पचाउन समेत मद्दत पुऱ्याउँछ ।

२. मानिसले चिल्लो पदार्थ खानुहुँदैन भन्ने धारणा गलत छ । शरीरलाई चिल्लो चाहिन्छ । चिल्लो कम भयो भने दिमाग, नसा, कलेजो, छालाआदिलाई अप्ठ्यारो पर्न सक्छ, रोग लाग्न सक्छ । खानाबाट शरीरले प्राप्त गर्ने सम्पूर्ण क्यालोरी (इनर्जी) को एक तिहाइ चिल्लोबाट प्राप्त हुनुपर्दछ । यो चिल्लो स्याचुरेटेड वा अनस्याचुरेटेड (घिउ वा तेल) जुनसुकै प्रकारको भए पनि फरक पर्दैन । कुरा चिल्लो पदार्थको मात्राको हो, प्रकारको होइन । यो बिल्कुलै नयाँ सोचाइ हो । घिउको चिल्लोले बेफाइदा गर्ने अनि तेलको चिल्लोले फाइदा गर्ने भन्ने कुरा गलत छ । तोरीको तेलले मुटु बलियो बनाउँछ, सूर्यमुखी तेलले स्वास्थ्यलाई फाइदा गर्छ भन्ने कुरा तथ्यहीन प्रचारबाजी मात्र हो । यो तेलको व्यापार बढाउन गरिएको विज्ञापन मात्र हो । १ देखि २ चम्चा (१५-३० ग्राम) सम्म शुद्ध घिउ दिनदिनै खाँदा कुनै बेफाइदा छैन । उच्च रक्तचाप, मधुमेह र मुटुरोगीले समेत कम मात्रामा घिउको स्वादको मज्जा लिन सक्छन् ।

३. घिउमा भएको ‘बुटिरिक एसिड’ र ‘छोटा फ्याट्टी एसिड’ ले आन्द्रामा असल ब्याक्टेरियाहरुलाई वृद्धि गराउन मद्दत पुयाउँछन् । यसबाट पाचन प्रणाली बलियो बन्छ । कब्जियत, अपचजस्ता समस्यामा फाइदा पुग्छ । ‘बुटिरिक एसिड’ ले ‘टी’ सेल्सहरुको वृद्धि गराउँछ, जसका कारण शरीरको प्रतिरक्षात्मक प्रणालीमा पनि सुधार हुन्छ, रोगसँग लड्ने क्षमता बढ्छ । यस कारण भनिएको हो ‘घिउ खाए मान्छे बलियो बन्छ’ ।

४. घिउमा मध्यम लम्बाइ भएका फ्याट्टी एसिड हुन्छन्, जुन सजिलै ऊर्जामा परिवर्तन हुन्छन् । व्यायाम गर्दा, शारीरिक गतिविधि बढाउँदा घिउको चिल्लो सजिलै पच्छ, यो जमेर शरीरमा बसिराख्दैन । यस्तै प्रकारले घिउमा ‘लिनोलिक एसिड’ पनि हुन्छ, जसले शरीरमा जमेको बोसोलाई पगाल्न मद्दत गर्छ । यस कारण थोरै घिउ खाई व्यायाम गर्दा शरीरको तौल चाँडै घट्छ ।

५. घिउले महिला र पुरूष दुवैमा ‘सेक्स हर्मोन’ को मात्रा सन्तुलनमा राख्न मद्दत पुऱ्याउँछ । पुरूषहरुमा शुक्रकीटको सङ्ख्या बढाउँछ, महिलाको डिम्बाशयलाई स्वस्थ राख्छ । यस प्रकार घिउले बाँझोपनबाट बच्न सहयोग पुऱ्याउँछ ।

६. घिउमा ओमेगा-३ फ्याट्टी एसिडु पनि हुन्छ । यसले असल कोलेस्टेरोललाई बढाउँछ र मुटुको स्वास्थ्यलाई फाइदा पुऱ्याउँछ । घिउमा भएको भिटामिन ‘ए’ ले आँखालाई तेजिलो र छालालाई मुलायम राख्न मद्दत गर्छ ।

७. विचार पुऱ्याउनुपर्ने कुरा के छ भने, घिउ शुद्ध र थोरै खानुपर्छ । घिउ धेरै खाँदा हानि पुग्न सक्छ । घिउ नपच्ने समस्या भएकाहरूले खानुहुँदैन । थोरै घिउ खाँदा पनि धेरै कोलेस्टेरोल बढ्ने वंशाणुगत खतरा (खराब जेनेटिक्स) भएकाहरुले खानुहुँदैन । धुवाँ उड्ने गरी तताएर खानुहुँदैन । मोटोपन भएकाहरूले क्यालोरीको हिसाब गरेर खानुपर्छ । घिउ खाँदा हरियो सागपात पनि खाँदा राम्रो हुन्छ । शारीरिक सक्रियता बढाउन सके घिउको स्वादको मज्जा लिन सकिन्छ ।

गाई वा भैंसीको शुद्ध घिउ उत्तम पौष्टिक पदार्थ हो । आयुर्वेदमा शुद्ध घिउमा मिसाएर धेरै औषधिसमेत बनाइन्छ । घिउमा मिसावट गरी यसको शुद्धतालाई बिगार्ने काम नगरौं । शुद्ध घिउ थोरै मात्रामा नियमित खाँदा सबैलाई फाइदा छ ।

 

* डा. रेग्मीको भर्खरै प्रकाशित पुस्तक ‘मुटुका कुरा’ बाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *