विश्वभरका लागि अत्यावश्यक औषधीको सूची तयार पार्ने डब्लुएचओको विज्ञ टोलीमा नेपाली डाक्टर विशाल ज्ञवाली

काठमाडौँ, ५ जेठ । विसं २०५९ सालको ‘एसएलसी टपर’ विशाल ज्ञवालीले पछिल्लो दुई दशकमा चिकित्सा शिक्षा र सेवाका क्षेत्रमा जे जति प्रगति हासिल गरे, अरु कुनै नेपालीले सायदै गरेका छन् ।

खासगरी उनका उपचार विधि तथा अन्तराष्ट्रिय जर्नलमा छापिएका नयाँ – नयाँ अनुसन्धानले विश्वभर तहल्का पिटने गरेको छ ।

विश्व प्रसिद्ध मानिने जापानको नायोगा युनिभर्सिटीबाट सन् २०१७ मा मेडिकल अंकोलोजी विषयमा पीएचडी सक्काएर नेपाल फर्किएका उनले केही समय यहाँ काम पनि गरे तर आफ्नो विज्ञताले डोर्‍याउँदै उनलाई क्यानडा पुर्‍यायो ।

अहिले उनी क्यानडाको क्वीन्स युनिभर्सिटीमा सह प्राध्यापकको रुपमा कार्यरत छन् । यद्धपी क्यान्सर उपचार तथा अनुसन्धानमा उनको सक्रियता तथा सहभागिता विश्वव्यापी देखिन्छ ।

…………………………………………………………………………..

ठूला ठूला कन्फ्रेन्समा भाग लिन विश्वका विभिन्न देश जाई -आई गर्ने डा. विशाल केही दिन अघि मात्रै विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभाबाट क्यानडा फर्किएका छन् । तर, यसपटक उनी कुनै सम्मेलनमा भाग लिन जेनेभा गएका भने होईनन् ।

विश्वको स्वास्थ्यलाई निगरानी गर्ने संस्था विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गठन गरेको विज्ञहरुको एउटा उच्चस्तरीय समिति सदस्यको रुपमा काम गर्न उनी त्यहाँ पुगेका थिए ।

हो, उनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संसारभरका देशका लागि तयार पार्ने अत्यावश्यक औषधीहरुको सूची ( इसेन्सियल लिष्ट अफ मेडिसिन)लाई अन्तिम रुप दिनका लागि विज्ञ बनेर त्यहाँ पुगेका थिए ।

‘डब्लुएचओले हरेक दुई दुई वर्षमा अत्यावश्यक औषधीको सूची सार्वजनिक गर्छ । आवश्यकता, प्रभावकारिता र नयाँ नयाँ अनुसन्धानका आधारमा ती औषधीहरु सूचीमा पर्ने वा सूचीमा परेका समेत बाहिरिने अवस्था हुन सक्छ । यसपटक मलाई विज्ञको रुपमा डब्लुएचओले बोलायो । गत ५ देखि ९ मे सम्म जेनेभामा बसेर अत्यावश्यक औषधीहरुको सूची फाइनल गरियो,’ नेपाली हेल्थसंग डा ज्ञवालीले भने ।

उनले अहिले फाइनल गरेको ती अत्यावश्यक औषधीहरुको सूची आगामी अगष्ट महिना तिर सार्वजनिक हुने बताए ।

‘यहि सूचीका आधारमा विश्वभरका सदस्य राष्ट्रहरुले अत्यावश्यक औषधीको सूची तयार गर्ने र जनतालाई उपलव्ध गराउने गर्दछन्,’ उनले भने ।

अत्यावश्यक औषधीको सूची तयार गर्ने डब्लुएचओको विज्ञ टोलीमा डा ज्ञवालीसंगै अरु विभिन्न देशका १३ जना चिकित्सक तथा वैज्ञानिकहरु रहेका थिए ।

जेनेभामा डब्लुएचओका उच्च पदाधिकारीसंगै विज्ञटोली

विज्ञ टोलीका अन्य सदस्यहरुमा डा लुईस एचिङ ओम्बाजो (इन्फेक्सियस डिजिज स्पेशलिस्ट), प्रोफेसर क्लाउडिया ओसोरियो डी क्यास्ट्रो (फार्मासिस्ट), प्राडा इलिई अकि (प्रोफेसर अफ मेडिसिन), असिस्टेन्ट प्रोफेसर गाब्रिएला प्रुस्टकी लोपेज(पेडियाट्रिक्स), डा रिता बन्जी सेन्टर अफ रेगुलाटोरी पोलिसिज एट द माइरो नेग्री इन्स्टिच्युट प्रमुख), प्रोफेरस एन्ड्रयु रोबर्टस् (क्लिनिकल हेमाटोलोजिष्ट) रहेका छन् ।

यस्तै डा फ्रान्सिस्को सिप्पी (पेडियाट्रिक हेमाटोलोजिष्ट अंकोलोजिष्ट), प्राडा जोविदा ताजी मेजालेक (क्लिनिक हेमाटोलोजिष्ट एण्ड इन्टरनल मेडिसिन), प्राडा एलिजावेथ दि भ्रेस (मेडिकल अंकोलोजिष्ट) प्राडा इन्डाहस वीडीहेनिङ (प्रोफेसर कम्युनिटी मेडिसिन), प्राडा मेई जेङ ( पेडियाट्रिक इन्फेक्सियस डिजिजेस स्पेसियालिष्ट) र डा पत्रिक ओकेवेन (डिस्ट्रिक मेडिकल अफिसर) रहेका छन् ।

‘यो काम एकदमै चुनौतीपूर्ण काम हो । चिकित्सक, आम उपभोक्ता बिरामीसंगै फार्मा उद्योगसंग समेत जोडिएको विषय हो । सूचीमा पर्दा वा निस्कदाँ त्यसले औषधीका क्षेत्रमा मात्रै नभई उपचारका क्षेत्रमा समेत प्रभाव पर्न सक्छ । त्यसैले बढो मिहेनतले काम गरिएको छ । यसले सही पक्कै पनि सही नतिजा दिनेछ,’ डा. ज्ञवालीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *